काठमाडौं, असोज १९ – दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन असोज ३० देखि हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड एवं आगन्तुकलाई एकै मञ्चमा जुटाई लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले पहिलो पटक भर्चुअल माध्यमबाट उक्त सम्मेलन हुन लागेको हो ।
सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय दूतावासले आयोजना गर्न लागेको हो । कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध व्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याइ दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने महासंघले जनाएको छ । सम्मेलनलाई दुई हजार भन्दा बढी योग्य लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतीपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने पनि जनाइएको छ ।
गत वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमको रूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करण पनि आयोजना गर्न लागिएको हो ।
कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो । यो सम्मेलनलाई नेपाल भारतबीच लगानी प्रबर्द्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चको रूपमा हेरिएको महासंघले जनाएको छ ।
पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS