काठमाण्डौँ — दोलखाको विगू गाउँपालिका–१ छेतछेतदेखि गौरीशंकर गाउँपालिका–९ रिकुसम्म केबलकार निर्माण हुने भएको छ ।
रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्नका लागि केबलकार बन्ने भएको हो ।
बाँध निर्माणका लागि ढुवानी र आवतजावत गर्न सहज हुने गरी २.४ किलोमिटर केबलकार बनाउन लागेको हो ।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ ।
आयोजनाको पहुँचमार्गका रूपमा प्रयोग गर्न सडकभन्दा सस्तो र छिटो हुने भएकाले केबलकार निर्माणमा ध्यान दिएको हो ।
केबलकार बनाउन कम्पनीले टेण्डरसमेत आह्वान गरिसकेको छ ।
अहिले ३ विदेशी कम्पनी अन्तिम छनोटमा परेका छन् । अस्ट्रियाको डोप्पेलमयर सेइलबह्नेन, स्विटजरल्यान्डको बार्थोलेट मस्चिनेन्बउ एजी र फ्रान्सको पोमा एसएएस छनोटमा परेका छन् ।
ठेकेदार कम्पनीको अन्तिम छनोट गर्न आगामी कात्तिक २२ गते (सेप्टेम्बर ६, २०१८) बैठक बस्ने जनाइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS