काठमाण्डौँ — दसैं र तिहारका लागि गरिने नयाँ नोट वितरण चुनौतीपूर्ण बन्दै गएको छ ।
मागअनुसार आपूर्ति हुन नसकेको, नोट छपाइ तथा व्यवस्थापन खर्च थपिँदै गएकोलगायत कारण नोट वितरण चुनौतीपूर्ण बन्दै गएको हो ।
एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्र बैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिणाममा नोट थुप्रिँदै गएको छ ।
बिहीबारसम्म करिब ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण भएको राष्ट्र बैंकले जनाएको छ ।
सोही अवधिमा नयाँ र प्रयोग गर्न सकिने सुकिला गरी ३४ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई भुक्तानी भएको छ ।
पछिल्ला वर्षहरूमा निरन्तर रूपमा नयाँ नोटको माग बढिरहेकाले आउँदा दिनमा वितरणको काम चुनौतीपूर्ण हुने देखिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन प्रमुख लक्ष्मीप्रपन्न निरौललाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS