काठमाडौं, मंसिर ९ – मंसिर १३ गते ‘फाेनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ हुने भएकाे छ । ब्रान्डवर्थ प्रालिले आयोजना गर्न लागेकाे कन्क्लेभमा डिजिटल इकोनोमी विषयमा सबै सरोकारवालाबीच छलफल हुने जनाइएकाे छ ।
साे कन्क्लेभ विभिन्न डिजिटल प्लेटफर्ममार्फत र एपी वान टेलिभिजनमा प्रसारण गरिनेछ । कार्यक्रममा अर्थतन्त्रको डिजिटाइजेसनको सम्भावना, यसको आगामी बाटो, सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरबारे सरोकारवालामाझ बृहत् छलफल हुने आयोजक संस्था ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न सेसन सञ्चालन हुनेछ । यसअन्तर्गत डिजिटल इकोनोमी, डिजिटल बैंकिङ, ईकमर्स, अनलाइन भुक्तानी आदि विभिन्न विषयमा सरोकारवालाबीच छलफल हुने उनले जानकारी दिए ।
कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले उनीहरुको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगत व्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् । वित्तिय सेवा, भुक्तानी सुविधा, ईकमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा छलफल हुनेछ ।
नेपाली ईकमर्श इकोसिस्टमका सबै सरोकारवालाहरुको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल ईकोनोमीका बारेमा नयाँ बहस शुरु गर्ने विश्वास आयोजकको छ । नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, ईलर्निङ र ईकमर्शले क्रमशः व्यापकता पाएको छ ।
कोरोना भाइरस महामारी तथा यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी/निषेधाज्ञाले अर्थतन्त्रका प्राय सबै अवयवलाई नराम्ररी प्रभावित पारिरहँदा नेपालमा ईकमर्स र डिजिटल बैंकिङ भने फराकिलो हुदै गएको छ ।
कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीका बारे जानकारीका साथै यसको प्रयोगको अनुभव समेत गरायो । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।
घरमै बसी बैंकमा खाता खोल्ने तथा शेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल वालेटमार्फत् भुक्तानी गर्ने लगायतका नयाँ सेवाहरुमा नेपालीहरु विस्तारै अभ्यस्त हुदै गएका छन् । अनलाइन कारोबार तथा अनलाइन भुक्तानीको बढ्दो प्रयोगले साइबर सेक्युरीटी ईकमर्सको महत्वपुर्ण हिस्सा रहेको तथ्य उजागर गरेको सन्दर्भमा नेपालमा अनलाइन कारोबार हुने/हुनसक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका बारेमा समेत कनक्लेभमा विस्तृत छलफल हुनेछ । डिजिटल इकोनोमीबारेको कन्क्लेभ भएकाले यसको आयोजन पनि डिजिटल माध्यमबाटै गरिनेछ ।
कन्क्लेभमा डिजिटल अर्थतन्त्रका सम्भावना र चुनौतीका अतिरिक्त, ईकमर्स, भुक्तानी सेवा र यसको ईकोसिस्टम, डिजिटल बैंकिङ, कोभिड–१९ ले दर्शाएको डिजिटल अर्थतन्त्रको आवश्यकता र अनलाइन शिक्षा जस्ता विभिन्न ६ ओटा सत्रहरु सञ्चालन हुनेछन् ।
FACEBOOK COMMENTS