नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको माहोल गरमागरम बनिरहेको छ, तपाईंको तयारी कस्तो चलिरहेको छ ?
एशोसिएटको तर्फबाट उपाध्यक्षमा पदमा मैले उम्मेदवारी दिएर आफ्नो र मेरो टीमको प्रचार–प्रसारमा म अहिले लागिरहेको छु । समग्रमा हाम्रो तयारी भव्य र विजयोन्मुख भइरहेको छ । चन्द्रप्रसाद ढकालको हाम्रो टीमले राम्रो मत पाएर विजयी बन्ने दिशातर्फ हामी उन्मुख भइसकेका छौं र हाम्रो जितमा कुनै शंका पनि छैन ।
निर्वाचनको तयारी तीव्र बनिरहँदा सहमतिको चर्चा पनि चलिरहेको छ, सहमतिको सम्भावना कत्तिको छ ?
सहमति भयो भने त राम्रो हो । तर, सहमतिमा नेतृत्व चयनको त्यस्तो प्रभावकारी प्रयास कतैबाट भएको मेरो नोटिशमा छैन । त्यसकारण यो सम्भावना कम्तीमा मैलेचाहिँ देखेको छैन । खैर ! भयो भने त्यो जत्तिको राम्रो अरु के हुन्छ र ! तर, सहमति गर्दा पनि त प्रश्न उठ्छ नि, के का लागि भनेर । के का लागि सहमति गर्ने ? यो हाम्रो निर्वाचन त प्रजातान्त्रिक प्रक्रिया हो नि !
यो प्रजातान्त्रिक प्रक्रियामा हामी उद्योगी–व्यवसायीको जुन समाज छ, त्यो समाजका मानिसहरूले हामीलाई भोट हाल्ने हो । निर्वाचन हुँदाका बखत नै हो उहाँहरूले कुन नेतृत्व ठिक छ, कसलाई भोट हाल्ने वा कसलाई नहाल्ने भन्ने निर्णय गर्ने । यदि हामीले सहमतिमा निर्वाचन हुन दिएनौं भने त उहाँहरूको अधिकार हनन् हुन्छ, त्यसकारण म त यो निर्वाचन प्रक्रियालाई पनि राम्रै मान्छु । तर, कसैले सहमतिका लागि छोड्न चाहन्छ भने अवश्य पनि हामी कम्फर्टेवल छौं ।
तपाईंले के–के एजेन्डा बोकेर यो पदमा उम्मेदवारी दिनुभएको छ ?
एजेन्डाहरू हामीसँग थुप्रै छन् । म महासंघमा १५–१६ वर्षदेखि कार्यकारिणी सदस्य भएर काम गर्दै र अनुभव बटुल्दै आएको छु । यद्यपि, यो बीचमा मलाई कुनै पनि नेतृत्वको भूमिकाचाहिँ प्राप्त भएन ।
जहाँसम्म एजेन्डाको कुराछ, मेरो पर्टिकुलर रोल कहाँ हुन्छ भने श्रमिक र रोजगारदाताबीचको पुल बन्नु नै हो । रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध स्थापित गरी सिंगो औद्योगिक क्षेत्रलाई सहज रूपमा अगाडि बढाउने वातावरण निर्माणमा मेरो भूमिका केन्द्रित हुने छ । जहाँ सबैभन्दा धेरै समस्या समेत उत्पन्न हुने गरेको छ । यसलाई सहज रूपमा समाधानको उपायहरू खोज्नु मेरो महत्वपूर्ण भूमिका हुने छ ।
त्यस्तै, निर्याततर्फ पनि मेरो ध्यान जाने छ । म आफै पनि निर्यातमुलक व्यवसायमा संलग्न भएको हुनाले त्यहाँ भएको समस्या समाधान, निर्यात वृद्धि गर्ने र थप सहजीकरणमा मेरो ध्यान केन्द्रित हुने छ । जस्तो, गएको वर्ष पनि हामीले अधिकतम धागो निर्यात गरेर सरकारले सीआईपी समेत प्रदान गरेको छ ।
देशकै समस्याको रूपमा रहेको रोजगारी सृजनामा पनि मेरो ध्यान केन्द्रित हुने छ । रोजगारी वृद्धिका लागि सबैभन्दा पहिला सहज वातावरण बन्नु आवश्यक छ । त्यस्तै सरकारको स्थायित्व, राजनीतिक स्थिरता र प्रभावकारी नीति नियम बन्नु पर्दछ । हामीले लगानी वृद्धि गर्ने खालको नीति निर्माण गर्नेवित्तिकै लगानी बढ्छ र त्यसैले स्वतः रोजगारी सृजना गर्दछ, यसतर्फ मेरो ध्यान जाने छ ।
अहिले हेर्ने हो भने नेपालमा साना लगानीका उद्योगहरूको भविष्य राम्रो भए पनि प्रर्याप्त प्रवद्र्धन हुन सकिरहेको छैन । त्यसका निम्ति पनि मैले काम गर्ने छु । तर, यसका लागि सरकारले हामी उद्योगी व्यवसायीलाई भरपूर साथ दिनुपर्दछ । अहिले सरकारले ल्याएको ५० अर्ब रूपैयाँको प्याकेज पनि अक कार्यान्वयनको दिशातर्फ गएको मैले सुनेको छु । तर, त्यसमा राखिएको एउटा कन्डिशन सच्याउनुपर्ने आवश्यकता मैले देखेको छु ।
जस्तो प्याकेज अन्तर्गत ५ प्रतिशत व्याज उपयोग गर्ने उद्योगले आफ्ना श्रमिकलाई रोजगारीबाट हटाउन पाउने छैन भन्ने व्यवस्था छ, तर यसलाई स्पष्ट पारिएको छैन कि कस्तो अवस्थासम्म राख्ने र कस्तो अवस्थामा निकाल्न पाउने भनेर । यो क्लियर हुन जरुरी छ । क्लियर गर्न हामी लाग्ने छौं, यो कुरामा भावी अध्यक्ष शेखर गोल्छालाई पनि हामी सहयोग गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहान्छौं ।
म आफ्नो व्यवसायमा पनि विभिन्न अनुभव संगालेको व्यक्ति हुँ । अहिले पनि हाम्रा उद्योगहरूमा १६ हजार जना भन्दा बढी मानिसहरूले रोजगारी पाइरहेका छन् । हाईड्रो, कृषि, सिमेन्ट, धागो, इलेक्ट्रोनिक, चकलेट, एक्सपर्ट अझ भनौं सेवा र उत्पादनमुलक व्यवसायमा म संलग्न छु । म टे«निङ पनि गर्छु । यो सँगै मेरो देशभर राम्रो नेटवर्क पनि छ । यसले पनि मसँग धेरै अनुभव प्राप्त भएको छ ।
शेखर गोल्छाको प्रसङ्ग निकाल्नुभयो, पछिल्लो समय उहाँ जति तटस्थ बस्नुपर्ने थियो त्यो भएन भन्ने गुनासो बजारमा छ नि ?
कुनै–कुनै ठाउँमा उहाँले कुनै प्रसङ्गमा कसैको पक्षमा बोलेको मैले पनि सुनेको छु । यद्यपि, हामी जितेर आएपछि सबै एक भएर अगाडि बढ्ने छौं । हामीले कोही एउटा व्यक्तिलाई हेर्ने होइन, एफएनसीसीआईलाई हेर्ने हो, किनभने यो देशभरका उद्योगी व्यवसायीको छाता, आशा र भरोसाको संस्था हो, संस्थाप्रति सदस्यहरूले राखेको विश्वास र यसको गरिमालाई ख्याल गरेर हामी अगाडि बढ्नुपर्दछ र सोही अनुसार काम गर्नुपर्छ भन्ने मेरो धारणा छ ।
कोभिडको समयमा सरकारसँग प्रभावकारी रूपमा लविङ गर्न नसकेको आरोप महासंघलाई लागेको छ र यसको कारण राजनीतिलाई मानिएको छ । लामो समय महासंघको कार्यकारिणीमा रहेर काम गर्नुभएको तपाईंले महासंघभित्र राजनीतिक प्रभाव र चरित्र कत्तिको अनुभव गर्नुभएको छ ?
महासंघ प्रति उद्योगी व्यवसायीले ठूलो भरोसा र विश्वास गर्नुभएको छ । त्यसमाथि जब कुनै समस्या आईपर्छ त्यसैपनि अपेक्षा उच्च भएर जान्छ । त्यो बेला मान्छेको मनमा लाग्छ कि महासंघले केही काम गरेन । तर, त्यसो होइन महासंघले धेरै राम्रो–राम्रो काम गरेको छ । महासंघले राम्रो काम नगरेको भए आज यो अवस्थामा रहन्थ्यो र ? यसप्रति किन लालच सबैको बढ्थ्यो र ! त्यसकारण मलाई लाग्छ महासंघले राम्रै गरेको छ । केही भएका गल्ती कमजोरीहरूलाई आगामी कार्यसमितिले सुधार गरेर लैजाने विश्वास दिलाउन चाहान्छु ।
विद्यमान कोभिड–१९को प्रकोपबाट साना व्यापार र व्यवसाय त चौपट भए नै, तर ठूलाहरूलाई केही असर पारेको छैन भनिन्छ । तपाईं आफैं ठूलो व्यावसायिक घरानाको व्यक्ति, कस्तो छ ठूलो व्यवसायीलाई कोभिडको प्रभाव ?
पहिलो कुरा त यो रोग हो, रोगले ठूलो र सानो भनेर कसैलाई छुट्याउँदैन भन्ने तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । त्यसकारण सानो प्रभावित अनि ठूलोलाई केही भएको छैन भन्ने संगति कतै पनि मिल्दैन र यो सत्य कुरा होइन । जस्तो, पर्यटन उद्योग हेर्नुहोस् त ! त्यहाँ ठूला–ठूला होटेल, रेष्टुराँ, एयरलाइन्स, ट्राभल एजेन्सी र अन्य तत्वहरू छन् ती सबै अहिले धराशयी भएको अवस्था छ भनेपछि के ठूलो के सानो त्यो प्रश्नै होइन । त्यस्तै उत्पादन उद्योगहरू पनि ३ महिनासम्म त ठप्पै भएर बसेको होइन र ? अनि त्यसलाई प्रभावित बन्ने कि नभन्ने ?
त्यस्तै एउटा कपडा उद्योगको कुरा गर्नुहोस्, लकडाउनमा बसेको बेलामा सबै मानिसहरू प्रायः साधारण कपडा लगाएर घरमै बस्नुभयो । कसैलाई पनि विवाह, पार्टी, कार्यालय वा अन्य फङ्शनहरूमा जाने जरुरत नै परेन भनेपछि कसले किन्छ लुगा र उत्पादन गर्ने ती पनि बन्दै भइहाले । भनेपछि यस्ता सबै उद्योगहरू आ–आफ्नो ठाउँमा सबै प्रभावित छन् । तर, के कुरा सत्य हो भने कुन उद्योग कति प्रतिशत समस्यामा गयो भन्ने मात्रै हो । जस्तो कञ्जुमर उद्योगहरू राम्रै भयो होला, विलाशी वस्तु वा अन्य उद्योगहरूको अवस्था अलि बढी समस्यामा गयो होला, समस्या त सबैलाई परेकै हो ।
महासंघ चुनावाको रापतापमा छ, तपाईं पनि एउटा उम्मेदवार भएको नाताले तपाईंलाई व्यवसायीहरूले किन भोट हाल्ने, के छ आधारहरू बताइदिनुहोस् न ?
मैले विगतमा पाएको भूमिका निर्वाह गरेको आधारमा व्यवसायी मित्रहरूले मलाई मत हाल्ने हो, यो कुरा स्पष्ट छ । त्यससँगै बांगोटिंगो कुराहरू गरेर मात्रै काम हुँदैन । काम हुनका लागि केही गर्नुपर्छ, भूमिका पाउँदा मैले केही गर्छु र गर्न सक्छु भन्ने विश्वास मेरा मतदाता मित्रहरूमा छ, त्यसकारण मलाई भोट गर्ने हो ।
लामो समय उद्योग व्यवसायमा संलग्न भएको, महासंघका पनि कार्यसम्पादनका तौरतरिका र शिलशिलाहरूको मेसो पाएको तथा उद्योगव्यवसाय र महासंघभित्रको समस्याका बारेमा जानकार भएको र त्यसलाई समाधान गर्ने उपायहरूको खोजी गरेर बसेको आधारमा म र मेरो टीमलाई मत जाहेर गर्ने हो ।
उद्योगी व्यवसायीका समस्याहरू सम्बन्धित निकायमा लगेर वार्ता र छलफल गर्न सक्ने सवल टीमका लागि सम्पूर्ण मतदाताले मत प्रकट गर्नुहुने छ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।
FACEBOOK COMMENTS