काठमाडौं, पुस १ – विश्वभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरस निर्मुल पार्ने उपायको खोजीमा छन । जसअनुसार छिटो भन्दा छिटो खोप विकास र उत्पादन गर्ने होड चलिरहेको छ । यहि सन्दर्भमा इजरायलयको तेल अभिभ युनिभर्सिटीका वैज्ञानिकहरुले कोरोना भाइरसलाई नष्ट गर्ने सजिलो र सस्तो उपाय फेला पारेको बताएका छन ।
वैज्ञानिकहरुको अनुशन्धानले एलइडी बत्तिको प्रयोगबाट कोरोना भाइरस उत्पन्न गराउने SARS-CoV-2 लाई नष्ट गर्न सकिने पुष्टि गरेको छ । अध्ययन अनुसार यो प्रविधिलाई एयर कण्डिसन तथा पानी वितरण प्रणालीमा जडान गर्न सकिन्छ । यसमा परावैजनी किरण (अल्ट्राभायोलेट रेज) उत्पन्न गराउने डायोड (युभी–एलईडी) ले कोरोना भाइरसलाई सफलतापूर्वक नष्ट गर्न सक्छ ।
यो प्रविधि अहिलेसम्मकै सस्तो भएको पनि वैज्ञानिकहरुले बताएका छन । जर्नल अफ फोटो क्यामेष्ट्री एण्ड बायोलोजीमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरुले भाइरसमाथी फरक फरक तरंग निकाल्ने युभी–एलईडी विकिरणको किटाणु मार्ने क्षमताको प्रयोग गरेका थिए । यो प्रयोगमा कोरोना भाइरस उत्पन्न गराउने SARS-CoV-2 पनि समावेश गराइएको थियो ।
तेल अभिभ विश्वविद्यालयको अमेरिकन स्टडीका सह लेखक हादस ममनेले बस, रेल, स्पोर्ट्स हल तथा विमानहरुमा कोरोना भाइरस नष्ट गर्न विभिन्न प्रकारका रशायनहरुको प्रयोग भैरहेको र यसका लागि अधिक श्रमशक्तिको पनि प्रयोग भैरहेको बताए । कोरोना भाइरसलाई नष्ट गर्न एलईडी बल्बबाट बनाइएको किटाणु नाशक प्रणालीलाई भेन्टिलेसन र एयर कण्डिसनमा जडान गर्न सकिने उनले बताए ।
ममनेले भने, “परावैजनी प्रकाश फैलाउने एलईडी बल्बहरुको प्रयोग गरेर कोरोना भाइरसलाई सजिलै मार्न सकिने तथ्य हाम्रो अध्ययनमा भेटिएको छ । हामीले सस्तो मुल्यमा सजिलै पाइने एलईडी बल्बहरुको प्रयोगबाट कोरोना भाइरसलाई नष्ट गर्न सक्यौं ।”
उनका अनुसार एलईडी बल्लबलाई एयर अण्डिसन, भ्याकुम, पानी ल्याउने पाईप र पानी ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्न सकिन्छ । यो प्रविधिले ठूला ठूला सतह र खाली स्थानहरुलाई सजिलै कोरोना भाइरसमुक्त गराउन सकिने हादस ममनेले बताए ।
अनुशन्धानकर्ताहरुका अनुसार कोरोना भाइरस नष्ट गर्ने यो प्रणालीलाई एलईडी बल्बबाट प्राप्त हुने परावैजनी विकिरण मानिसको सम्पर्कमा नआउने गरी डिजाइन गर्नुपर्छ । घरभित्रको किटाणुरहित सतहमा युभी–एलईडीको प्रयोग अत्यन्तै घातक हुने वैज्ञानिकहरुलाई उद्धृत गर्दै साइन्स डेलीले जनाएको छ ।
FACEBOOK COMMENTS