काठमाडौं, माघ १७ – उपाधिको प्रवल दावेदार विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार पाँचौ जित दर्ता गर्दा वालिङ नगरपालिका स्याङ्जामाथि ३–० को सहज जित जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपिएफको जितमा थप एक गोल प्रिति राईको नाममा रह्यो । आठौं मिनेटमा सावित्रा भण्डारी साम्वाले एक डिफेन्डरलाई बिट गर्दै गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा गरेको प्रहार पोस्टमा लाग्दै फर्कदा सरिश्मा थापाले क्लियर गरिन् ।
१३औं मिनेटमा सावित्राले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाइन् । मनमायाँ लिम्वुको लामो पासलाई नियन्त्रणमा लिदै गोलरक्षक अघि बढेको अवस्थामा सावित्राले खाली पोस्टमा गोल गर्दा डिफेन्डर कियोमेग्ने जोमो भेनेस्सा नोइल्लीले बचाउने मौका नै पाइनन् ।
२३औं मिनेटमा कप्तान अनिता बस्नेतको क्रसलाई सावित्राको हेडर प्रयासलाई वालिङकी गोलरक्षक सावित्री किसानले बचाइन् । २४औं मिनेटमा अनिता केसीले खाली पोस्टमा गोल गर्न सकिनन् । २६औं मिनेटमा मनमायाँ दमाईले सुवर्ण अवसर पाएपनि चुकाउदा वालिङ बराबरीबाट चुक्यो ।
३६औं मिनेटमा सावित्रा भण्डारीको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक सावित्री किसानले उत्कृष्ट बचाउ गरिन् । ७१औं मिनेटमा प्रिती राईले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् ।
कप्तान अनिता बस्नेतको क्रसमा प्रितिको प्रहारलाई गोलरक्षक सावित्री किसानले बचाएपनि रिवाउन्डमा गोल गर्न सफल भएकी थिइन् । ७५औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एपिएफको जित पक्का गरिन् । उनले प्रिति राईको पासलाई सदुपयोग गरेकी थिइन् । यससँगै सावित्राले लिगमा आफ्नो गोलसङ्ख्या १२ पु¥याएको छ ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेथो इलुडाई रुथको प्रहारलाई एपिएफकी गोलरक्षक एन्जिला तुम्वाप्पो सुब्बाले विफल पारिन् । यो जितसँगै अपराजित रहेको एपिएफको ५ खेलबाट १५ अंक पुगेको छ ।
एपिएफले दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लब र बिराटनगर महानगरपालिका मोरङलाई ८ अंकले पछि पारेको छ । यद्दपि आर्मी र बिराटनगर महानगरपालिकाले एक खेल कम खेलेका छन् । पराजित वालिङ ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS