काठमाडौं, चैत २५ – दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मेची र कोशी राजमार्ग जोड्ने भेडेटार-रवि-राँके सडक विस्तारको तामाझामका साथ शिलान्यास गरेका थिए । प्रधानमन्त्रीको गृह जिल्लामा सडक विस्तार हुने भएपछि स्थानीयवासीहरू उत्साहित थिए । तर, दुई वर्ष बितिसक्दा पनि १२ प्रतिशत मात्रै प्रगति भएपछि भेडेटार-रवि-रांके सडक विस्तार आयोजनाले ठेक्का तोड्ने अवस्थामा पुगेको छ ।
सडक निर्माण अलपत्र पारेको भन्दै भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रालीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोजनाले कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । १५ दिनभित्र मनासिब स्पष्टीकरण पेश नगरेमा ठेक्का तोड्ने र कालोसूचीमा राख्नेसम्म प्रक्रिया अघि बढाउन सक्नेछ ।
विगत चार महिनादेखि कुनै गतिविधि नदेखिएपछि चेतावनी दिएको आयोजनाले जानकारी दिएको छ । यो एक्जिम बैंक अफ इन्डियाबाट ८७ प्रतिशत र सरकारबाट १३ प्रतिशतबाट बन्न लागेको हो ।
मेची र कोशी राजमार्ग जोड्ने यो सडकको २०७५ पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैयाँ लागतमा कालोपत्रे ७ मिटर, सोल्डर दुवै तर्फ १/१ मिटर सहित ९ मिटर गरि जम्मा १००.३६७ कि. मि. लामो सडक एप्को इन्फ्राटेक प्रा. लि. लखनाउ, भारतले १९ नोभेम्बर, २०१८ मा सम्झौता गरेको थियो । २०२२ सेप्टेम्बर २४ भित्रमा काम सम्पन्न गर्नु पर्नेमा अहिले सम्म १२.८३ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि स्थलगत निरीक्षणका लागि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले चाँडै उपयुक्त निर्णय लिइने बताएका थिए ।परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी रहेको बताएका थिए ।
यो सडक निर्माण कार्यमा उल्लेख्य प्रगति हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवको टोलीले स्थलगत निरीक्षण गरेको थियो । एक सय एक किलोमिटर लामो यो सडक निर्माणको हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करिब १२ प्रतिशत प्रगति देखिएपछि मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको थियो ।
FACEBOOK COMMENTS