काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राख्ने भएको छ ।
यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिने भएको छ ।
यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गर्ने भएको छ । महानगरले आर्थिक बर्ष २०७८-२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएको हो । महानगरले सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा सामूहिक प्रयासको लागि संस्थागत प्रबन्ध मिलाइने भएको हो ।
महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने भएको छ । कोभिड-१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट-सहुलियत दिइनेछ ।
महानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, वहाल कर, व्यवसाय कर र विज्ञापन करलाई एकीकृत रुपमा आबद्ध गरी राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । महानगरपालिकाबाट प्रवाह हुने सेवाको गुणस्तर अभिवृद्धिका लागि विषयगत सर्वेक्षण र वार्षिक सर्वेक्षण गरी नागरिकको सुझाव संकलन गरी क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । नागरिक सर्वेक्षण २०७७ बाट प्राप्त नागरिकको सुझाव अनुसार कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने नीति रहेको छ ।
FACEBOOK COMMENTS