काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो एनिभर्सरीका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।दिउँसो २ बजे देखि दुई बजेर २ मिनेट सम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले नि:शुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
पछिल्लो समय काठमाडौंमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ । ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रूपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन् ।
मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ गर्नु पर्दैन ।कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गरी पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा छ ।
FACEBOOK COMMENTS