काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले कर्मचारी सञ्चय कोषको स्रोत/उपयोग २०७७ असार मसान्तमा रु. ३८४ अर्ब १ करोड रहेकोमा २०७७ चैत मसान्तमा रु. ४२४ अर्ब ९ करोड पुगेको जनाएको छ ।
उक्त अवधिमा संचयकर्ताहरुको सञ्चित रकम ८.८ प्रतिशतले वृद्धि भई रु. ३८० अर्ब ५४ करोड पुगेको छ भने कर्जा सापटी ५.६ प्रतिशतले वृद्घि भई रु. २६६ अर्ब ५६ करोड पुगेको छ ।
नागरिक लगानी कोषको स्रोत/उपयोग २०७७ असार मसान्तमा रु. १६१ अर्ब ८ करोड रहेकोमा २०७७ चैत मसान्तमा रु. १८१ अर्ब ७९ करोड पुगेको छ । सो अवधिमा कोष संकलन १०.९ प्रतिशतले वृद्धि भई रु. १५६ अर्ब ७४ करोड पुगेको छ भने कर्जा सापटी ८.९ प्रतिशतले वृद्घि भई रु. ४९ अर्ब ६२ करोड पुगेको छ ।
बीमा कम्पनीहरुको स्रोत/उपयोग २०७७ असार मसान्तमा रु. ४३७ अर्ब २६ करोड रहेकोमा २०७७ चैत मसान्तमा १८.४ प्रतिशतले वृद्धि भई रु. ५१७ अर्ब ८२ करोड पुगेको छ ।
पुँजी बजार
२०७७ असार मसान्तमा १,३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २,८८३.४ कायम भएको छ । त्यसैगरी बजार पुँजीकरण २०७७ असार मसान्तमा रु. १,७९२ अर्ब ७६ करोड रहेकोमा २०७८ असार मसान्तमा १२३.७ प्रतिशतले वृद्धि भई रु. ४,०१० अर्ब ९६ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले रु. २३ अर्ब ४ करोड बराबरको ऋणपत्र, रु. १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, रु. १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र रु. ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा १६ वाणिज्य बैंक, ४ विकास बैंक र १ वित्त कम्पनी गरी २१ बैंक तथा वित्तीय संस्थाहरुले रु. ६९ अर्ब ६० करोडको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन् । २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमार्फत् रु.१०० अर्ब ३८ करोड वित्तीय साधन परिचालन भएको छ ।
सहकारी संस्था
२०७७ असार मसान्तमा सहकारी संस्थाहरुको बचत परिचालन रु. ३५० अर्ब ५८ करोड रहेकोमा २०७७ चैत्र मसान्तमा रु. ४७७ अर्ब ९६ करोड पुगेको छ । सो अवधिमा सहकारी संस्थाहरुबाट प्रवाह भएको ऋण रु. ३४१ अर्ब ७१ करोडबाट वृद्धि भई रु. ४२६ अर्ब २६ करोड पुगेको छ ।
FACEBOOK COMMENTS