काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७÷७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा विभागले खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा २ हजार ८ सय ३४ नमुना संकलन गरेको थियो ।
प्रवक्ता महर्जनले खाद्य उद्योग तथा बजार अनुगमन तथा निरीक्षण गरी नमुना संकलन गर्दा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा १ सय थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको बताए ।
प्रवक्ता महर्जनले जसमध्ये सबैभन्दा बढी गुणस्तरहीन दूषित प्रशोधित पिउने पानी बजारमा पठाउने १६ उद्योगमाथि मुद्दा दायर भएको बताए । यसैगरी, बेकरी तथा बिस्कुटका १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउ सातवटा, मसलाका सात, दालमोठ भुजिया पाँच, सस पाँच मुद्दा दायर भएका छन् ।
यसैगरी, दलहन चारलगायत मिठाई, दूध दही, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धूलोजस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् । १ सय मुद्दामध्ये ४० वटा मुद्दा न्यून गुणस्तरका, २६ वटा मुद्दा दूषितका २६ वटा मुद्दा लेबललगायतका विवरण नमिलेका, तथा बाँकी आठवटा मुद्दा खाद्य ऐननियम निर्देशिका उलंघनसम्बन्धी छन् ।
खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था रहेको छ । विभागका अनुसार विभागअन्तर्गतका विभिन्न कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा २ जहार ८ सय ३४ नमुना संकलन भएको थियो ।
संकलित नमुनामध्ये खाद्यान्न(दलहनजन्यका ७ सय ४७ वटा छन् । यस्तै, तेल तथा घिउजन्यका ३ सय ८२ वटा, फल तथा सागपात जन्य पदार्थका २ सय ९९ वटा, दाना पदार्थका २ सय ७४ वटा, मसलाका २ सय ६६ वटा, चिया कफीका १ सय २४ वटा छन् ।
यस्तै, दूध तथा दुग्ध पदार्थका २ सय ६ वटा, प्रशोधित पिउने पानीका १ सय ६५ वटा, कन्फेक्सनरीका ९० वटा नमुनाको विश्लेषण परीक्षण गरेको छ । जसमा २ सय १९ वटा नमुनाको परीक्षण गुणस्तरहीन पाइएको थियो ।
जसमध्ये खाद्यान्नका ३६ नमुना, दानाका ३३ नमुना, तेल तथा घिउजन्य ३० नमुना, प्रशोधित पिउने पानीका २७ नमुनालगायतका अन्य खाद्य पदार्थका नमुना प्रतिकूल रहेका थिए । विभागका अनुसार आर्थिक वर्ष २०७७(७८ विभाग तथा मातहतका कार्यालयले खाद्य स्वच्छता सर्भिलेन्सकाअन्तर्गत २ हजार ७ सय ७५ वटा नमुना संकलन गरिएको थियो ।
आर्थिक वर्ष २०७७(७८ मा खाद्य( दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजुरीउपर तत्काल सम्बोधन टोलीमार्फत कारबाहीलगायत ६ हजार १ सय ८९ पटक निरीक्षण अनुगमन गरिएको विभागले जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS