एजेन्सी । म्याड्रिड ,स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को प्रतिस्पर्धात्मक खेलमा इल्चेले गेटाफेमाथि १–० गोलको कठिन जित निकाल्यो ।
रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले गोल गरे । ग्रानाडाका लुइस सुवारेजले सान्त्वना गोल गरेका थिए । रोड्रीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टोलीको उत्साह बढाए । उनले गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए ।
त्यसपछि ६६औं मिनेटमा ग्रानाडाका लुइसले गोलगर्दै खेललाई १–१ को बराबरीमा ल्याए । लुइसले रुवेन रोचिनाको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलको ८९औं मिनेटमा सर्जियोले गोलगर्दै रियल बेटिसलाई जिताए । उनले पनि गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए ।
खेलमा बेटिसले ५७ र ग्रानाडाले ४३ प्रतिशत बल पोसेसन राखेको थियो । बेटिसका सर्जियो कानालेस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै बेटिस नवौं स्थानमा उक्लिएको छ । बेटिसले चार खेलबाट पाँच अंक बनाएको छ । पराजित ग्रानाडा दुई अंक सहित १७औं स्थानमा छ ।
यसैगरी अर्को खेलमा इल्चेलाई जिताउन लुकास पेरेज नायक बने । लुकासले ६९औं मिनेटमा जोहन मोजिकाको पासमा गोल गरेका थिए । खेलमा गेटाफेले ५६ प्रतिशत बल पोसेसन राखेको गेटाफेले गोल फर्काउन सकेन । इल्चेका जोहन मोजिका ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै चार खेलबाट पाँच अंक बनाएको इल्चे १०औं स्थानमा छ । पराजित गेटाफे अंकबिहिन बन्दै १९औं स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १० अंक छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।
त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नु पर्ने छ । हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।
FACEBOOK COMMENTS