काठमाण्डौँ — राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।
विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ गत वर्षभन्दा निक्कै भिन्न छ ।
दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित भएको क्यान महासंघकी उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन् ।
मेलामा दूरदराजमा ड्रोनको प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग व्यावहारिक रुपमै देखाइएको छ ।
मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको क्यानले जनाएको छ ।
मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ ।
कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् ।
मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS