काठमाण्डौँ — वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।
श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।
सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।

— कान्तिपुर
