काठमाण्डौं– सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।
मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको बताए। उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा क्रिकेट खेलाडीलाई पुर्याउने प्रतिवद्धतासमेत व्यक्त गरे।
यसैबीच मन्त्री विश्वकर्माले मुलपानी क्रिकेट मैदान साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दाबी गरे। आफू मन्त्री हुँनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया सुरु भइसकेको भन्दै दुई वर्ष भित्रमा रंगशाला निर्माण हुने बताए।