काठमाडौं । इङ्ग्ल्याण्डको एक अदालतमा बताइएअनुसार ब्लेनहेम प्यालेसबाट ४.८ मिलियन पाउन्ड (८४ करोड ८५ लाख नेपाली रूपैयाँ बढी) मूल्यको सुनको ट्वाइलेट चोरी भएको थियो । यो चोरी सम्पन्न गर्न केवल पाँच मिनेट मात्र लागेको थियो ।
यो सुनको ट्वाइलेट सेप्टेम्बर २०१९ मा अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसमा आयोजित कला प्रदर्शनीमा राखिएको थियो । त्यतिबेला यो ट्वाइलेट पूर्ण रूपमा सञ्चालनमा थियो ।
इङ्ग्ल्याण्डको अक्सफोर्ड क्राउन कोर्टमा सुनुवाइका क्रममा चोरीपछि यसलाई टुक्राटुक्रा पारिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
सुनको ट्वाइलेट कसरी चोरी भयो ?
अदालतमा बताइएअनुसार पाँच जनाको समूहले यो चोरी गरेका थिए । उनीहरू ब्लेनहेम प्यालेसको बन्द प्रवेशद्वार तोडेर भित्र पसेका थिए ।
चोरहरूले प्रयोग गरेका हथौडा घटनास्थलमै छोडेका थिए । चोरी हुनुभन्दा १७ घण्टा अगाडि ट्वाइलेटको एउटा फोटो लिइएको थियो । अभियोजन पक्षका जुलियन क्रिस्टोफर केसीले अदालतलाई बताएअनुसार यो फोटो चोरीमा संलग्न माइकल जोन्सले लिएका थिए, जब उनी चोरीका लागि जानकारी संकलन गर्दै थिए ।
जुलियन क्रिस्टोफरका अनुसार चोरी सम्पन्न गर्न केवल पाँच मिनेट मात्र लागेको थियो ।
उनी भन्छन्, ‘चोरी भएको सुनको ट्वाइलेट कहिल्यै फेला परेन । अनुमान गरिन्छ कि यसलाई पगालेर सानोसानो टुक्रामा बाँडिएको थियो ।’
निर्णायक मण्डल सदस्यहरूलाई यस मामिलामा एक व्यक्तिले आफ्नो अपराध स्वीकार गरिसकेका बताइएको छ । ती व्यक्ति ४० वर्षीय जेम्स शीन हुन्, जो नर्थह्याम्प्टनशायरका वेलिङबोरो निवासी हुन् ।
जेम्स शीनले चोरी, आपराधिक सम्पत्ति स्थानान्तरण र षड्यन्त्रको अभियोग स्वीकार गरेका छन् । तर, तीन अन्य अभियुक्तहरूले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन् ।
अक्सफोर्डको डिभिनिटी रोडका ३९ वर्षीय माइकल जोन्सले चोरीको आरोप अस्वीकार गरेका छन् । विन्डसरका ३६ वर्षीय फ्रेड डो (पहिले फ्रेडरिक साइन्स भनेर चिनिन्थे) र पश्चिम लन्डनका ४१ वर्षीय बोरा गुच्चुकले आपराधिक सम्पत्ति स्थानान्तरण षड्यन्त्रको आरोप अस्वीकार गरेका छन् ।
अनुसन्धानमा अरू के पत्ता लाग्यो ?
चोरी भएको १८ क्यारेट सुनको ट्वाइलेट इटालियन कलाकार माउरिजियो क्याटेलनको एक कला प्रदर्शनीको हिस्सा थियो ।
यो ट्वाइलेटको तौल ९८ किलोग्राम थियो र यसको बीमा ६ मिलियन डलर (झन्डै ७९ करोड रूपैयाँ) मा गरिएको थियो।
अदालतलाई बताइएअनुसार सेप्टेम्बर २०१९ मा सुनको बजार मूल्यअनुसार ट्वाइलेटमा प्रयोग भएको सुनको मूल्य २.८ मिलियन पाउन्ड (झन्डै ४९ करोड ५० लाख रूपैयाँ) थियो ।
अभियोजन पक्षका अनुसार जेम्स शीन, फ्रेड डो र बोरा गुच्चुकका मोबाइल फोनबाट भेटिएको सन्देश, भ्वाइस नोट र स्क्रिनसटहरूले उनीहरू चोरी गरिएको सुन बेच्ने योजनामा रहेको देखाउँछ ।
यी अभियुक्तहरूले चोरी गरिएको २० किलोग्राम सुन प्रतिकिलो २५,६३२ पाउन्ड (झन्डै ४५ लाख रूपैयाँ) मा बेच्ने योजना बनाएका थिए ।
आरोप छ कि बोरा गुच्चुक जो हैटन गार्डनमा ‘पाचा अफ लन्डन’ नामक गहना पसल चलाउँथे, उनले प्रत्येक किलो सुन बेच्दा झन्डै ३,००० पाउन्ड (करिब ५ लाख ३) हजार रूपैयाँ) नाफा कमाएका थिए ।
इङ्ग्ल्याण्डको जुन ब्लेनहेम प्यालेसबाट सुनको ट्वाइलेट चोरी भएको थियो, त्यो युनेस्को विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक स्थल हो । यो प्रसिद्ध नेता सर विन्स्टन चर्चिलको जन्मस्थान हो ।
ब्लेनहेम प्यालेसबाट सुनको ट्वाइलेट चोरीको मुद्दा हाल पनि अदालतमा विचाराधीन छ ।
-बीबीसी हिन्दीबाट अनूदित
FACEBOOK COMMENTS