काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहसहित सात जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरुले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आयोगको आरोप छ । मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको उनीहरुविरुद्ध आरोप रहेको छ ।
अख्तियारका अनुसार यस्तो कार्यमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सव–इन्जिनियर उपेन्द्र कुशवाहा संलग्न रहेका थिए । सिम्रौनगढ नगरपालिका वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको थियो ।
काम गरेकोभन्दा बढी मूल्याङ्कन गरी गराई एक लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिइएको पाइएको छ । उनीहरुविरुद्ध एक लाख पाँच सय अठ्सठ्ठी रुपैयाँ बिगो रकम कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
FACEBOOK COMMENTS