काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र कृत्रिम बुद्धिमता (एआई) को प्रयोगलाई कडाई गरेको छ ।
सामाजिक सञ्जाल र एआई प्रयोगकर्ताहरूका लागि आयोगले आज जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख गरिएको नियमहरू यस्ता छन्–
– सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने ।
– निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने ।
– सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने ।

– कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्स (ए.आइ.) को प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा गराउन नहुने ।

– निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने ।

– कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने ।

– उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने ।

– निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा पोस्ट, रि–पोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा गराउन नहुने ।
– क्यामेरा, भिडियो क्यामेरा, ड्रोन, मोबाइल वा अन्य उपकरणवाट अनुमति नलिइ मतदानस्थल र मतगणनास्थलको तस्वीर लिन, भिडियो खिच्ने कार्य गर्न नहुने ।
‘सामाजिक सञ्जाल प्लेटफर्म’ भन्नाले कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग विचार वा सूचनाको आदानप्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित फेसबुक, मेसेञ्जर, भाइवर, ट्वीटर, यूट्यूब, इन्स्टाग्राम, ब्लग, पिन्टरेस्ट, गुगल प्लस, टिकटक, ह्वाट्सएप, इमो, वीच्याट, लिङ्कङ्कन, टमलर, डिस्कर्ड लगायतका सार्वजनिक रूपमा उपलब्ध हुने गरी सञ्चालनमा ल्याइएका प्रणाली बुझ्नुपर्ने पनि आचार संहितामा स्पष्ट गरिएको छ ।
निर्वाचन आचारसंहिता स्वीकृत, गाडी दुईवटा र झण्डा दशवटा मात्रै प्रयोग गर्न पाइने (पूर्णपाठ)
FACEBOOK COMMENTS