काठमाडौं । अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य आसपास इरानका चार आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।
अमेरिकी सेनाले बन्दर अब्बासस्थित एउटा भू–नियन्त्रण केन्द्रमा पनि आक्रमण गरेको थियो, जहाँबाट पाँचौँ ड्रोन प्रक्षेपण गर्ने तयारी भइरहेको बताइएको छ ।
एक अमेरिकी अधिकारीले उक्त कारबाही सीमित र पूर्ण रूपमा रक्षात्मक रहेको बताएका छन् । उनका अनुसार युद्धविराम कायम राख्नु र अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित गर्नु नै कारबाहीको मुख्य उद्देश्य थियो ।
अमेरिकी सेनाले ती ड्रोन आफ्ना सैनिक तथा सैन्य अड्डाका लागि खतरा बन्न सक्ने निष्कर्ष निकालेपछि निशाना बनाएको जनाइएको छ ।
यसैबीच, कुवेतको सरकारी समाचार संस्थाका अनुसार देशभर साइरन बजाइएको छ । कुवेती सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणाली शत्रुपक्षबाट हुन सक्ने मिसाइल तथा ड्रोन आक्रमण रोक्न सक्रिय रहेको जनाएको छ ।

कुवेत सेनाको जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा नागरिकले सुनेका विस्फोटका आवाज हवाई प्रतिरक्षा प्रणालीले आक्रमण अवरोध गर्दा उत्पन्न भएको उल्लेख गरिएको छ । सेनाले नागरिकलाई सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न र सतर्क रहन आग्रह गरेको छ ।

तर, हालसम्म ती मिसाइल र ड्रोन कुन पक्षबाट प्रहार गरिएको हो भन्ने स्पष्ट हुन सकेको छैन । घटनाबारे थप विवरण आउने अपेक्षा गरिएको छ ।

अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको इरानको दाबी
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी निकट सञ्चारमाध्यमका अनुसार उक्त सैन्य अड्डाबाट बिहीबार बिहान इरानी लक्ष्यमा अमेरिकी आक्रमण गरिएको भन्दै त्यसको जवाफस्वरूप कारबाही गरिएको हो ।
रिभोलुसनरी गार्डले कुन अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको हो भन्ने खुलाएको छैन । अमेरिकाका मध्यपूर्व क्षेत्रका विभिन्न देशमा सैन्य अड्डा रहेका छन् ।
फार्स समाचार संस्थाले रिभोलुसनरी गार्डको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै प्रकाशित गरेको विवरणअनुसार बन्दर अब्बास विमानस्थल बाहिरको क्षेत्रमा अमेरिकी सेनाले बिहीबार बिहान हवाई प्रक्षेपास्त्रमार्फत आक्रमण गरेको थियो ।
त्यसपछि बिहान ४ बजेर ५० मिनेटमा उक्त आक्रमणको स्रोत मानिएको अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको जनाइएको छ ।
रिभोलुसनरी गार्डले आफ्नो प्रतिक्रिया अमेरिकाका लागि ’गम्भीर चेतावनी’ भएको उल्लेख गर्दै अमेरिकी आक्रमणको जवाफ नदिइने अवस्था नरहेको चेतावनी दिएको छ ।