काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन अल्पकालीन आदेश दिएको हो ।
अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेशी तोकिएको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो ।
राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशन विपरित एन्फा निर्वाचन प्रक्रियामा गएपछि विवाद बढेको छ । एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका थिए । एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो ।
यसअघि राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । राखेपको निर्देशन विपरित एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले उच्च अदालतमा रिट दायर गरेका थिए ।

FACEBOOK COMMENTS