काठमाडौँ । खोटाङका सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौँ राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
मंगलबार जिल्ला खेलकुद विकास समिति खोटाङको दिक्तेल माटिकोरेस्थित कबर्डहलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने सितोरियो कराँतेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
कराँते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो कराँते तर्फको प्रदेश स्तरीय प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गर्ने खेलाडीलाई जनही ५ हजार, दोस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ३ हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई २ हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् । यस्तै, राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने सितोरियो कराँतेका खेलाडीलाई जनही २५ हजार ५५५, दोस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई १५ हजार ५५५ र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ११ हजार १११ प्रदान गर्ने घोषणा गरेका छन् । सितोरियो कराँते खेलाडीको मनोबल बढाउन र खेलक्षेत्रको प्रवर्द्धनका लागि विजेतालाई व्यक्तिगत रूपमा पुरस्कार दिने घोषणा गरेको तामाङले बताए ।
नवौँ राष्ट्रिय प्रतियोगीताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सितोरियो कराँतेतर्फ जिल्लाका २९ खेलाडी प्रतिस्पर्धा गर्दैछन् । प्रदेश स्तरीय प्रतियोगिता आगामी भदौ २४ गतेदेखि असोज ८ गतेसम्म पूर्वका विभिन्न जिल्लामा सञ्चालन हुँदैछन् । सितोरियो कराँते प्रतिस्पर्धा भदौ ३० गतेदेखि असोज २ गतेसम्म धरानमा सञ्चालन गर्ने तयारी छ । राष्ट्रिय खेलकुद प्रतियोगिता भने पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।
एसियन कराँते महासङ्घले सन् २०१६ मा भारतको नयाँदिल्लीमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय रेफ्री परीक्षामा तामाङले अन्तर्राष्ट्रिय रेफ्री परीक्षा उत्तीर्ण गरेका थिए । तामाङ जिल्ला खेलकुद विकास समिति खोटाङको कराँते तर्फका प्राविधिक इन्चार्ज पनि हुन् । स्वयंसेवक प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका तामाङले २०५२ साल भदौमा राष्ट्रिय खेलकुद परिषदबाट स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए । प्रशिक्षकको २० वर्षे र २५ वर्षे सेवा पुरा गरेकामा तामाङले दीर्घसेवा पदक प्राप्त गरिसकेका छन् ।
FACEBOOK COMMENTS