काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ टीभीएस अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार, यो हालसम्म नेपालमा उपलब्ध टीभीएसको सबैभन्दा शक्तिशाली १६० सीसी मोटरसाइकल हो ।
नयाँ मोडेलमा यस सेग्मेन्टमै पहिलोपटक प्रोजेक्टर हेडल्याम्प, यूएसडी सस्पेन्सन र पाँच इन्चको टीएफटी डिस्प्ले जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ ।
काठमाडौंको सतुंगलमा आयोजित कार्यक्रममा मोटरसाइकल सार्वजनिक गरिएको हो । कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, कन्टेन्ट क्रिएटर तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो । सहभागीका लागि विशेष राइडिङ सेसन र ट्रयाक राइडको समेत व्यवस्था गरिएको थियो ।
रेसिङ अनुभवलाई आधार बनाएर निर्माण गरिएको नयाँ अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा ५ स्पिड गियरबक्स, १२ लिटर क्षमताको इन्धन ट्यांक, डुअल च्यानल एबीएस, ३७ एमएम यूएसडी फ्रन्ट सस्पेन्सन तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड उपलब्ध छन् ।
कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल टीभीएसका लागि महत्त्वपूर्ण बजार बन्दै गएको बताए । उनले नयाँ अपाचे आरटीआर १६० फोर भीले उत्कृष्ट प्रदर्शन, आधुनिक प्रविधि र उच्च सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपाली युवा राइडरमाझ अपाचेको लोकप्रियता निरन्तर बढिरहेको उल्लेख गरे । नयाँ मोडेलका अत्याधुनिक फिचरहरूले राइडिङ अनुभवलाई अझ उत्कृष्ट बनाउने बताए ।
टीभीएस मोटर कम्पनीका प्रिमियम व्यवसाय प्रमुख विमल सुम्ब्लीले अपाचे ब्रान्डले विश्वका ६० भन्दा बढी देशमा ६५ लाखभन्दा बढी ग्राहकको विश्वास जितिसकेको उल्लेख गरे । नयाँ आरटीआर १६० फोर भीले पनि १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे । यसको मूल्य चार लाख २९ हजार ९ सय निर्धारण गरिएको कम्पनीले जनाएको छ ।