काठमडाौं । सुनसरी, सिरहा, धनुषा लगायतका जिल्लामा बढ्दो तनावप्रति निजी क्षेत्रका प्रमुख संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन, हिंसा र झडपबाट समस्याको समाधान नहुने भएकाले संयम अपनाउन आग्रह गरेका हुन्।
महासंघले तराई–मधेश क्षेत्र लामो समयदेखि विभिन्न जातजाति, भाषाभाषी तथा समुदायबीचको आपसी भाइचारा र सहिष्ण्ॉताको उदाहरण रहँदै आएको उल्लेख गर्दै कुनै पनि बहानामा हुने हिंसा र सामाजिक अशान्तिले कसैको हित नगर्ने जनाएको छ।
महासंघले अहिलेको तनावले सर्वसाधारणको दैनिक जीवनसँगै उद्योग, व्यापार र समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्ने भन्दै राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु, सञ्चारकर्मी तथा स्थानीय अगुवालाई शान्ति र सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
नेपाल उद्योग परिसंघले पनि समस्या समाधानको एकमात्र उपयुक्त बाटो संवाद र वार्ता भएको उल्लेख गर्दै आन्दोलन, हिंसा र मूठभेडबाट कुनै निष्कर्षमा पुग्न नसकिने जनाएको छ।
बजार, पसल तथा उद्योग–व्यवसाय बन्द गराउने, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाटजस्ता गतिविधिले कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई थप असर पार्ने भन्दै परिसंघले उद्योगी–व्यवसायी तथा आम नागरिकको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सले पनि पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ। चेम्बरले शान्ति र सुव्यवस्था कायम नभएसम्म उद्योग, व्यापार तथा व्यवसायिक गतिविधि सहज रूपमा सञ्चालन हुन नसक्ने भएकाले समस्या समाधानका लागि संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
निजी क्षेत्रका तीनवटै संस्थाले हिंसा र अशान्तिको सट्टा आपसी समझदारी र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै शान्ति तथा सद्भाव कायम गर्न सरकार, राजनीतिक दल, नागरिक समाज र स्थानीय समुदायलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।