काठमाडौँ । इटालीको प्रतिस्पर्धा नियामकले अमेरिकी टेक दिग्गज एप्पलविरुद्ध ठूलो कारबाही गरेको छ । प्रतिस्पर्धा प्राधिकरणले एप्पल र यसका दुई डिभिजनहरूलाई मोबाइल एप बजारमा आफ्नो ‘प्रभुत्वशाली स्थिति’ दुरुपयोग गरेको आरोपमा ९८.६ मिलियन यूरो जरिवाना लगाएको घोषणा गरेको छ ।
प्रतिस्पर्धा नियामकले एप्पलले युरोपेली नियमहरू उल्लङ्घन गरेको आरोप लगाएको छ । नियामकका अनुसार, एप्पलले आफ्नो एप स्टोर मार्फत तेस्रो-पक्ष विकासकर्ताहरूसँगको व्यवहारमा ‘पूर्ण प्रभुत्व’ को अभ्यास गरेको आरोप छ । नियामकले मे २०२३ मा एप्पलविरुद्ध अनुसन्धान सुरु गरेको र अनुसन्धानले कम्पनीले अप्रिल २०२१ देखि तेस्रो(पक्ष एप विकासकर्ताहरूलाई अधिक प्रतिबन्धात्मक गोपनीयता नीतिहरू लगाएर दण्डित गरेको पाइएको उल्लेख गरेको छ ।
विवादको मुख्य कारण एप्पलको एप ट्र्याकिङ पारदर्शिता सुविधा हो । प्रतिस्पर्धा नियामकले एप्पलले तेस्रो(पक्ष विकासकर्ताहरूलाई डेटा सङ्कलन र विज्ञापन उद्देश्यका लागि लिङ्क गर्न प्रयोगकर्ताहरूबाट ‘विशिष्ट सहमति’ प्राप्त गर्न अनिवार्य गरेको छ । यो सहमति एप्पलद्वारा लगाइएको एप ट्र्याकिङ पारदर्शिता स्क्रिन मार्फत प्राप्त गरिन्छ ।
नियामकले भन्यो, ‘एप ट्र्याकिङ पारदर्शिता नीतिका सर्तहरू एकतर्फी रूपमा लगाइएका छन् । तिनीहरू एप्पलका व्यावसायिक साझेदारहरूको हितका लागि हानिकारक छन् र कम्पनीले दाबी गरेझैं, गोपनीयता उद्देश्य प्राप्त गर्न समानुपातिक छैनन् ।’
यसबाहेक, विकासकर्ताहरूलाई एउटै उद्देश्यका लागि बारम्बार सहमति अनुरोधहरू पठाउन बाध्य पारिएको थियो, जसले नियमहरूको उल्लङ्घन गर्दछ ।

एप्पलले यस निर्णयको कडा आपत्ति जनाएको छ । विज्ञप्तिमा, एप्पलले यो निर्णयसँग असहमत भएको बताएको छ । कम्पनीले यो निर्णयले एप ट्र्याकिङ पारदर्शिता प्रम्प्ट मार्फत प्रयोगकर्ताहरूलाई प्रदान गरिएको महत्त्वपूर्ण गोपनीयता सुरक्षालाई कमजोर बनाउने दाबि गरेको छ ।

एप्पलले प्रयोगकर्ताहरूलाई कम्पनीहरूले अन्य एप र वेबसाइटहरूमा आफ्नो गतिविधि ट्र्याक गर्नसक्छन् कि सक्दैनन् भनेर नियन्त्रण गर्ने सजिलो तरिका दिन एप ट्र्याकिङ पारदर्शिता सिर्जना गरिएको स्पष्ट गरेको छ । साथै एप्पलले यी नियमहरू एप्पलसहित सबै विकासकर्ताहरूमा समान रूपमा लागू हुने बताएको छ । एप्पलले यसले नियामक निर्णयलाई अपील गर्ने र यसको ‘बलियो गोपनीयता सुरक्षा’ को रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

FACEBOOK COMMENTS