काठमाडौं । हिजो बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘वादल’ ले दिएको अभिव्यक्तिको प्रतिवादस्वरूप एक सशक्त कविता सार्वजनिक भएको छ, जसले निर्वाचन प्रक्रियामाथि उठाइएका आरोपलाई तीखो व्यङ्ग्य र प्रतिवादमार्फत चुनौती दिएको छ ।
थापाले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाममा नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायसम्मको प्रभाव रहेको आरोप लगाएपछि सामाजिक तथा राजनीतिक वृत्तमा मात्र नभइ स्वयम् उनको पार्टीभित्रै बहस र आलोचना चर्किएको छ ।
सोही सन्दर्भमा कवि अर्जुन पराजुलीले ‘मेरो भोट सेनाले हैन म आफैंले हालेको’ भन्ने स्पष्ट सन्देशमार्फत मतदाताको स्वायत्तता र लोकतान्त्रिक अधिकारको पक्षमा आवाज उठाएका छन् ।
कवितामा भनिएको छ, ‘सेनाले हालेको छैन हजुर, मेरो भोट म आफैले हालेको’ जसले मतदाताको स्वतन्त्र निर्णयलाई कसैले प्रभावित पार्न नसक्ने दाबी गर्छ । साथै ‘छोराछोरीको भोट छोराछोरी आफैले हालेका’ जस्ता पंक्तिहरूले व्यक्तिगत स्वतन्त्रताको भावलाई अझ बलियो बनाएको छ ।
यस कविताले निर्वाचन परिणामलाई बाह्य प्रभावसँग जोड्ने अभिव्यक्तिलाई अस्वीकार गर्दै, लोकतन्त्रको आधार नै जनताको स्वतन्त्र मताधिकार हो भन्ने सन्देश दिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो सिर्जनात्मक प्रतिवादले जनमतको मनोविज्ञान झल्काउने मात्र होइन, लोकतान्त्रिक प्रक्रियाप्रतिको जनविश्वासलाई पनि उजागर गर्छ ।

अहिले यो कविता सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ र यसलाई ‘जनताको मौन तर स्पष्ट जवाफ’ का रूपमा व्याख्या गरिँदै आएको छ ।


एमालेमा आन्तरिक तनाव बढ्दैः बादलको अभिव्यक्तिमा उपाध्यक्ष पौडेलको कडा आपत्ति