काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई प्रभावकारी बनाउन लखपति योजना कार्यान्वयनमा ल्याउने भएको छ ।
हरेक दिन एक जना नेपाली लखपति बन्नेछन् भने प्रत्येक महिनामा दुई जनाले बम्पर पुरस्कारस्वरूप जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यो योजनामा मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट कम्तीमा १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने उपभोक्ता सहभागी हुन सक्नेछन् । नगद वा अनलाइन माध्यमबाट गरिएको भुक्तानीको आधिकारिक बिलमा उल्लेख भएको बिल नम्बर नै पुरस्कार छनोटको आधार हुनेछ।
सरकारले उपभोक्तालाई हरेक खरिदमा सक्कली बिल लिन आग्रह गरेको छ। विशेषगरी होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक प्रतिष्ठानबाट सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिएर सुरक्षित राख्न आग्रह गरिएको छ।
हालका लागि यो योजनाअन्तर्गत प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा विजेताको घोषणा गरिने व्यवस्था गरिएको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमको कार्यान्वयनका लागि सरकारले आवश्यक कार्यविधिसमेत तयार गरेको छ।