काठमाडाैं । शेयर लगानीकर्ताहरु अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति आक्रोसित भएका छन् । उनले सोमबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा लगानीकर्तालाई तर्साउने गरी करको व्यवस्था गरेपछि उनीप्रति लगानीकर्ता आक्रोसित हुन पुगेका हुन् ।
बजेटपछि खुलेको शेयर बजारमा ५३ अंकको पहिरो गएपछि लगानीकर्ता तर्सेको यसले पनि पुष्टि गर्छ । अर्थमन्त्रीले ल्याएको बजेटकै कारणले शेयर बजार घट्न पुगेको लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले बताए । ‘ट्याक्स आतंकले गर्दा लगानीकर्ता आतकिंत भएका कारणले बजार घट्न पुग्यो,’ उनले भने, ‘हामीले पुँजीगत लाभकर घटाउने कुरा गरिरहेका थियौं, तर अर्थमन्त्रीले फेरि नबुझ्ने भाषामा ट्याक्सका कुरा ल्याउनु भयो, त्यसैले लगानीकर्ता तर्सिन पुगे ।’
अर्थमन्त्री महतले लगानीकर्तालाई शेयर बजारप्रति आफू सधै सकारात्मक रहेको बारम्बार बताउँदै आएका थिए । लगानीकर्ता पनि अर्थमन्त्रीप्रति आशावादी रहेका थिए । तर, अर्थमन्त्रीले बजेट मार्फत लगानीकर्ताले सोच्न पनि नसकेको करको कुरा ल्याइ दिएपछि लगानीकर्ताहरु आतंकित हुन पुगेका हुन् ।
ट्याक्स आतंकका कारण १९०० अंक भन्दा माथि पुगेको नेप्से १८०० अंकको लाइनमा आएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले घायल पारेको शेयर बजारलाई अर्थमन्त्रीको वित्तीय नीतिले पुनः घायल बनाउन पुगेको छ ।
लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकको नीतिका कारण बजारमा परेको प्रभावको विषयमा अर्थमन्त्री महतको ध्यान आर्कषण गराएका थिए । शेयर बजारलाई अप्ठेरो पार्ने खालका नीतिहरु बजेटमा नल्याउन र राष्ट्र बैंकले ल्याएका नीति परिमार्जन गर्न लगानीकर्ताले अर्थमन्त्रीलाई आग्रह गरेका थिए । तर, अर्थमन्त्रीले लगानीकर्ताको हित विपरित राष्ट्र बैंकले ल्याएका नीति परिवर्तन गर्न पहल गर्नुको साटो उल्टै बजेटमा करका दर घटाउनुको साटो बढाउन किसिमका ल्याएपछि लगानीकर्ता थप निरुत्साहित हुन पुगेका हुन् ।
लगानीकर्ताहरुले १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशतमा नै कायम गर्नुपर्ने माग गर्दै आएका छन् । यसैगरी लाभकर पनि घटाउन माग गर्दै आएका छन् ।
अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने लगानीकर्ताहरुको जोड दिँदै आएका छन् । ‘पुँजीगत लाभकर घटाउने कुरा गरिरहेका थियौं, तर, अर्थमन्त्रीले हाम्रा माग पुरा गर्न सक्नु भएन्,’ उनले भने, ‘उल्टो ५ प्रतिशत र ७.५ प्रतिशत अन्तिम लाभकर भनेर पहिला भनिएको अवस्थामा ट्याक्स फाइल पनि बढ्ने भनियो, त्यसको असर मंगलबारको बजारमा देखियो ।’
अर्थमन्त्री पुँजी बजारलाई नीतिगत सुधार गरेर लैजाने पक्षमा नदेखिएको लगानीकर्ताको आरोप छ । ‘बजेटबाट डर पैदा गराउने, लगानीकर्तालाई तर्साउने काम मात्रै भयो,’ एक लगानीकर्ताले भने, ‘भाषण गरेर मात्र भएन नीति राम्रो नबन्दा भएका लगानीकर्ता तर्साउदा एनआरएन ल्याउने भन्नु कथा मात्रै हो ।’
सरकारले केही गर्न नसकेका कारणले बजार घटेको शेयर बजार घटन पुगेको ब्रोकरको भनाइ छ । ‘यो सरकार र यो अर्थमन्त्रीप्रति हामी आशावादी हुने ठाँउ रहेन,’ एक ब्रोकरले भने, ‘यस्तो पेनिक अवस्थामा रहेका लगानीकर्तालाई ढाडस दिने खालको कार्यक्रम ल्याउनुको सट्टा करका कुरा देखाएर तर्साएर पनि हुन्छ त ।’
अर्थमन्त्रीले बजेट समग्रमा नराम्रो नभएपनि बुझाउन नसक्दा पनि लगानीकर्ता तर्सन पुगेका हुन् । ‘जिष्टमा त्यही नराम्रो कुरा त छैन् तर लगानीकर्ताले त्यसरी बुझ्न सकेनन् । लगानीकर्तालाई त्यसरी बुझाउन सक्नु पर्ने थियो,’ ती ब्रोकरले भने, ‘राज्यको अभिभावकको दायित्व त आफू मातहतका लगानीकर्तालाई त प्रत्यक्ष बुझ्ने खालका नीति ल्याउन सक्नु पर्दथ्यो । पुँजी बजारप्रति सकारात्मक छौं भनेर भाषणमा मात्रै भनेर हुँदैन नीतिमा देखाउनु पर्यो र त्यो अनुसार बजारले रियाक्ट गर्न सक्नुपर्यो ।
FACEBOOK COMMENTS