काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रलाई सबल बनाउन संस्थागत रुपमा गर्ने कार्यहरूलाई प्राथमिकता निर्धारण गर्दै समस्या समाधानमा ध्यान दिन निर्देशन दिएका छन्।
सोमबार सम्पन्न उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारको प्रभावकारिता बढाउन नियामक निकायहरूको समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान खोज्नुपर्ने बताए। उनले सुधारका कार्यहरूलाई योजनाबद्ध रूपमा अघि बढाए मात्र प्रभावकारी परिणाम प्राप्त हुने उल्लेख गरे।
बैठकमा राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, नेपाल बैंकर्स एसोसिएसन र कम्पनी रजिस्ट्रारको कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा बैंकिङ प्रणाली, सहकारी, बीमा, तरलता, कर्जा प्रवाह, अनुदान र पुँजीबजारजस्ता वित्तीय विषयमा छलफल भएको थियो।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रको कुनै पनि क्षेत्रमा देखिएको समस्या अन्य क्षेत्रमा असर पार्ने भएकाले सम्बद्ध निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले प्राथमिकता निर्धारण गर्दै योजनाबद्ध रूपमा समस्या समाधान गर्न सके वित्तीय सुधारका कार्यक्रम प्रभावकारी बन्ने धारणा राखे।
बैठकमा सहभागी निकायका प्रतिनिधिहरूले आ-आफ्ना क्षेत्रका मुख्य चुनौतीहरू प्रस्तुत गर्दै समाधानका उपायबारे सुझाव दिएका थिए। अर्थमन्त्रीले सरोकारवाला निकायहरूबीच समन्वय बढाई अर्थतन्त्र सुधारका योजनाहरू अघि बढाइने प्रतिबद्धता जनाए।
FACEBOOK COMMENTS