काठमाडौं । लामो समयदेखि समस्यामा रहेको देशको अर्थतन्त्र सुधारको अवस्थामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको वित्तीय तथ्यांकका अनुसार अर्थतन्त्रका हरेक सूचकहरु सुधारको अवस्थामा देखिएकाे हाे । यसअघि सबैभन्दा समस्याको विषय रहेको विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ । यसले पनि अर्थतन्त्र सुधारको अवस्थमा रहेको बुझ्न सकिन्छ ।
राष्ट्र बैंकका अनुसार महँगी पनि कम भएको छ । चालू आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।
विदेशी मुद्राको सञ्चितिमा व्यापक सुधार
चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पाैने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड हेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई रु.१३१० अर्ब ६६ करोड पुगेको छ ।
यस्तै, आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
१० खर्ब बढी रेमिट्यान्स
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । बैशाख मसान्तसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशत वृद्धि भएर १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ भित्रिएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा १.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।
आयात र निर्यात भने घट्यो
चालू आर्थिक वर्षको १० महिनामा वस्तु आयात १६.८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९÷८० को दश महिनाको तथ्यांकअनुसार अर्थात साउनदेखि बैशाखसम्ममा कुल वस्तु आयात घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई रु.१३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो ।
१२ खर्ब बढी व्यापार घाटा
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको भएको थियो ।
शोधान्तर स्थिति बचतमा
१० महिनाको अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडले घाटामा रहेको थियो।
समीक्षा अवधिमा चालु खाता रु.५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५४५ अर्ब ६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।
सरकारको खर्च र राजश्व
आर्थिक वर्ष २०७९/८० को दश महिनामा संघीय सरकारको कुल खर्च १० खर्ब ४७ अर्ब ७६ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ८६ अर्ब ७४ करोड, १ खर्ब २५ अर्ब ६८ करोड र १ खर्ब ३५ अर्ब ३४ करोड रहेको छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ५६ अर्ब २५ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६ खर्ब ८४ अर्ब ६३ करोड र गैर कर राजस्व तर्फ ७१ अर्ब ६२ करोड रुपैयाँ परिचालन भएको छ
FACEBOOK COMMENTS