असोज ९, काठमाडौँ । नेपालमा आय र खर्चको बीचमा ठूलो भिन्नता छ । यहाँ खर्च बढेको बढेकै छ तर सोही अनुपातमा आय बढेको छैन ।
कोभिड महामारीबीच नेपालीहरूका मुख्य चाडपर्व नजिकिएका छन् । चाडपर्ब संगै कतिपय दैनिक उपभोग्य वस्तुको भाउ लगातार बढी रहेको छ । अहिले खाने तेल, दाल, खाद्यान्न, हरियो तरकारीजस्ता वस्तुकोभाउले आकास छुन लागिसक्यो भन्ने गुनासो उपभोक्ताहरूले गरिरहेका छन् । यसैबीच व्यापारी र उत्पादकहरूले पनि केही उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेका छन् । त्यसो त , हरेक बर्षका चाडपर्वमा झैँ सरकारी अधिकारीहरू भने भाउ नियन्त्रणका केहि राम्रा कदमहरू चालिएको दाबी गर्छन् । तर विभिन्न सरकारी निकाय तथा व्यापारीहरूका संस्थाले सार्वजनिक गरेका विवरण हेर्दा भने विशेषगरी तरकारी र खाद्यान्नको मूल्यवृद्धि भएको देखिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरण हेर्दा विगत एक महिनामा ३० भन्दा बढी प्रकारका तरकारी र फलफूलको भाउ केही प्रतिशतदेखि दुई गुनासम्म बढेको छ ।समितिको विवरणअनुसार विशेषगरी हरिया मौसमी तरकारी र फलफूल एवं प्याज र लसुनजस्ता वस्तुको भाउ निकै बढेको छ।
त्यस्तै नेपाल खुद्रा व्यापार सङ्घको मूल्य सूची हेर्दा चामल, दालदेखि खाने तेलसम्मको भाउ बढेको देखिन्छ ।त्यसमध्ये खाने तेल निकै महँगो भएको छ भने चामल उत्पादक र थोक विक्रेताले गोदामको भाडा बढेको भन्दै चामलको भाउ केही बढाएका छन् ।
खुद्रा व्यापार सङ्घले पनि गत वर्षको तुलनामा खाद्यान्न, दाल र तेलको भाउ बढेको सहर्स स्वीकार गरिरहेको छ । उपभोक्तामा चाडपर्वको बेला व्यापारीले भाउ बढाइहाल्छन् भन्ने गलत मानसिकता छ । तर यो मूल्यवृद्धि चाडपर्वले भएको होइन । मूल्यवृद्धिमा थुप्रै कुराहरु जोडिएका छन् । पछिल्लो समय तेलको भाउ बढेको कुरा त चर्चाकै विषय भएको छ । आयातकर्ता र उत्पादकले नै बढाएकाले बजारमा पनि बढेर आएको हो भन्नेकुरा हरु आइरहेका छन् ।
एक खुद्रा व्यापारी गुनासो गर्दै भन्छन “ उपभोक्ताको सबैभन्दा नजिक बसेर काम गर्ने हामी नै हौँ । अनि भाउ बढ्ने बित्तिकै हामी जस्ता खुद्रा पसलेले भाउ बढायो भनेर हामीमाथि नै ढुङ्गा प्रहार हुन्छ । भाउ बढेर आएपछि हामीले त्यसै अनुसार बेच्नैपर्यो । यो कुरा धेरैले बुझ्दैनन् । उपभोक्ताले त गाली गर्छन् नै साथै अनुगमन पनि हाम्रै हुन्छ । आयातकर्ता र उत्पादकको अनुगमन हुँदैन । सबैभन्दा अप्ठ्यारो हामिलाई परेको छ । “
उता उत्पादकहरु भने महंगीको मुख्य कारण महामारी, चर्को कर र कच्चा पदार्थको मूल्यवृद्धि कारक भएको दाबी गर्छन ।
तेलको प्रसंगमा कच्चा पदार्थको भाउ बढ्दा यस्तो अवस्था आएको ब्यक्त गर्छन् । सबै खाले खाने तेलका लागि कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाटै ल्याउनुपर्ने भएकाले कच्चा तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा बढ्यो भने यहाँ पनि बढ्ने र घट्यो भने यहाँ पनि घट्ने बताउछन । महामारीका बेलामा पनि कहिल्यै खाने तेलको अभाव नभएको र आभाव हुन नदिने धाराणा ब्यक्त गर्दै यसको सम्बन्ध भनेकै कच्चा तेलको भाउसँग मात्र रहेको बताउछन ।
चाडपर्व आउन लाग्दा नेपालमा प्रत्येक वर्ष भाउ बढ्ने गरेको उपभोक्ता अधिकारकर्मीको छुट्टै धारणा रहेको छ ।
पछिल्लो बर्षको तुलनामा यसपाली मूल्यवृद्धिको चिन्ता सबैलाई छ । दैनिक उपभोग्य वस्तु मात्र होइन अहिले हरेक वस्तुको भाउ अचाक्ली नै बढेको छ । किन बढिरहेको छ भन्ने विषयमा स्थानीय तह सक्रिय हुनुपर्ने देखिएको छ । तर तीन वटै तहका सरकार सुतेर बसेका छन् । नेपालमा मूल्यको अनुगमन र विश्लेषण गर्ने छुट्टै निकाय बनाउनुपर्ने आवश्यकता भइसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
त्यसो त , अधिकारीहरू वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरू मूल्यवृद्धिबारे नियमित अनुगमन र नियमन भइरहेको बताउँछन् ।उनीहरूका भनाइमा अहिले विभागले नियमित बजार अनुगमन गरिरहेको छ र कसैले कृत्रिम मूल्यवृद्धि गरेको भेटिएमा कारबाही पनि गरिएको र महामारी र अन्य कारणले कच्चा पदार्थ वा अन्य कुराको भाउ बढेर उत्पादन लागत बढेको अवस्थामा केही वस्तुको मूल्यवृद्धि भएको पाइएको विभागका अधिकारिहरु स्वीकार गर्छन् ।
उनीहरुका अनुसार बजार र उपभोक्ता बहुसरोकारयुक्त विषय भएकाले विभागले चाहेर मात्र नहुने , सबै क्षेत्रसँग छलफल गर्ने , अनुगमन गर्ने काम गरिरहेको बताउछन ।
देशले खुला बजार अर्थतन्त्र अपनाएको हुनाले सबै वस्तुको मूल्य सरकारले निर्धारण गर्न त सक्दैन, तर कुनै पनि वस्तुको लागत हेरेर त्यसमा कानुनले तोकेकोभन्दा बढी नाफा लिएको रहेछ भने कानुनको दायरामा ल्याउने काम पनि विभागले गरिरहेको बिभागका अधिकारि हरु बताउछन ।
FACEBOOK COMMENTS