बारा । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल इच्छामा २०८२ असार ३० गते सम्पन्न भएको छ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ।
सभाले सो आर्थिक वर्षसम्मको संचित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ५ दशमलव १० प्रतिशतका दरले १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै बोनस सेयर तथा नगद लाभांशवापत कर प्रयोजनका लागि ० दशमलव २६८४ प्रतिशत अर्थात ९१ लाख २५ हजार ८७६ रुपैयाँ नगद लाभांश दिने निर्णय पनि गरिएको छ।
सभाले आ.व. २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरेको छ।
यसैगरी सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह ‘क’ बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युतराज सापकोटा तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट शौरभ रुंगटा र शिला राजभण्डारी निर्वाचित भएका छन्। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने तथा सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ।
नवनिर्वाचित सञ्चालक समितिको बैठकले दिपक कुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ भने स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्कीलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।
FACEBOOK COMMENTS