काठमाडौँ । अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण एशिया–प्रशान्त क्षेत्रको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिएको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रमको पछिल्लो प्रतिवेदनअनुसार यस क्षेत्रले ९७ अर्बदेखि २९९ अर्ब अमेरिकी डलरसम्मको क्षति व्यहोर्नुपर्ने आँकलन गरिएको छ ।
प्रतिवेदनका अनुसार यो क्षति क्षेत्रीय कुल गार्हस्थ उत्पादनको करिब ०.३ देखि ०.८ प्रतिशतसम्म हुन सक्छ । साथै विश्वभर करिब ३ करोड २० लाख मानिस गरिबीमा धकेलिन सक्ने खतरा रहेको र त्यसमध्ये झण्डै ८८ लाख एशिया–प्रशान्त क्षेत्रका हुने अनुमान गरिएको छ ।
तेल र ग्यासको मूल्य बढेसँगै यातायात, विद्युत् र खाद्य सामग्रीको लागत बढ्दै गएको छ । मध्यपूर्वबाट ऊर्जा आयातमा निर्भर एशियाली देशहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । एशिया विश्वकै प्रमुख उत्पादन केन्द्र भएकाले यहाँको आर्थिक सुस्तताले विश्व अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने चेतावनी प्रतिवेदनले दिएको छ।