काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षका निम्ति सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार, विनियोजितमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । सरकारको नियमित कार्य सञ्चालनका निम्ति गरिने खर्च हो यो । यो खर्चले नयाँ सम्पत्ति सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो खर्च कुल बजेटको ६२ प्रतिशतसम्म पुग्ने गर्छ ।
यस वर्ष चालु शीर्षकमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्ट्याएको थियो । यसमध्ये समीक्षा अवधिसम्म सरकारले सात खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ ।
पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । सडक, पुल, विद्यालय भवन, अस्पताल, सिँचाइ, जलविद्युत्जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा पुँजीगत खर्च गरिन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन ।
खासगरी पश्चिम एसियामा तनावका कारण निर्माण व्यवसायीले बिटुमिन इन्धनको अभाव झेलिररहेका छन् । त्यसको असर पुँजीगत खर्चमा देखिएको छ ।
पुँजीगततर्फ चालु आवमा खर्च गर्न सरकारले चार खर्ब सात अर्ब रुपैयाँ छुट्ट्याएको थियो । यसमध्ये ९६ अर्ब १९ करोड खर्च भएको छ । यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, सार्वजनिक ऋण व्यवस्थापनका निम्ति सरकारले यस वर्षका लागि छुट्ट्याएको बजेट पनि ठूलो मात्रामा खर्च भएको छ । सरकारले पहिले लिएका ऋणको साँवा र ब्याज यो शीर्षकमा छुट्ट्याइएको बजेटबाट तिर्ने गरेको छ ।

यो शीर्षकमा सरकारले तीन खर्ब ७५ अर्ब छुट्ट्याएको थियो । यसमध्ये दुई खर्ब १६ अर्ब बजेट खर्च भइसकेको छ । सरकारले चालु आवको चैत मसान्तसम्म नौ खर्ब सात अर्ब आम्दानी गरेको छ । राजस्वबाट मात्र सरकारले आठ अर्ब ८६ करोड रुपैयाँ संकलन गरेको छ ।