काठमाडौं । आज बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी। बिहान १०:२६ बजेको उत्तम साइतसँगै मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम शुरू भएको छ।
यतिबेला घर–घरमा नवदुर्गाको प्रसादस्वरूप रातो टीका थाप्ने र आशीर्वाद लिनेको उल्लास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ८:४९ बजे देवी विसर्जनको र १०:२६ बजे टीकाको उत्तम साइत तोकेको थियो। सोही साइत पारेर घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउन थालिएको हो।
आज बिहानबाट शुरू भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्छ। यद्यपि, नेपालका केही भागमा भने आज विजयादशमीको दिन मात्र रातो टीका र जमरा लगाउने चलन छ। यसैगरी, केही जाति र समुदायले आफ्नो कुल परम्पराअनुसार आज दही र अक्षता मुछेर सेतो टीका पनि लगाउने गरेका छन्।