विश्वव्यापी कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले अबचाहिँ गति लिन थालेको हो ?
गति लिन थालेको हो भन्नु भन्दा पहिला विश्वव्यापी कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावकाबारे अलिकति मन्थन गर्नु जरुरी छ । किन भने हामी २०७६ मंसिर (डिसेम्बर २०१९) मा चीनको वुहानबाट कोभिडको शुरुवात भयो र यसले विश्वव्यापी महामारीको रूप लियो ।
खासगरी यसले अरु क्षेत्रलाई जति असर गर्यो त्यो भन्दा धेरै विश्वभरकै पर्यटन क्षेत्रलाई असर पुर्याएको छ । घुमफिर गर्ने मान्छेको जुन आदत बसेको थियो कोरोनाका कारण ठप्प हुन पुग्यो र त्यसको असर नेपाललाई पनि पर्यो । १७ लाखको हाराहारीमा पर्यटक भित्र्याएर व्यवसाय गरिरहेका हामी व्यवसायीहरू धेरै प्रभावित बन्यौं । त्यतिमात्र होइन म त कोभिड शुरू भएयताको समयलाई ‘ग्राउण्ड जिरो’को रूपमा हेरिरहेको छु ।
कोरोनाको पहिलो भेरियन्टको समाप्तीसँगै दोस्रो भेरियन्ट नआउँदासम्मको अवस्थामा पर्यटन क्षेत्र केही तङ्ग्रिने कोशिसमा थियो । तर, दोस्रो भेरियन्टका रूपमा ‘डेल्टा’को फैलावटसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्न पुग्यो । त्यस अवधिमा मृत्युदर समेत बढेकाले पर्यटनका सबै गतिविधि ध्वस्त नै भए भन्दा पनि फरक पर्दैन ।
जतिबेला कोरोना महामारी नेपालमा समेत फैलिन थाल्यो त्यतिबेला हामी ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारीमा थियौं । भ्रमण वर्षप्रति पर्यटन व्यवसायीहरूमा ठूलो आशा र अपेक्षा थियो । म स्वयम् पनि भ्रमण वर्षको सदस्यसचिव भएर काम गरिरहेको थिएँ । हामी व्यवसायीहरू नवोदित कार्यक्रमहरूको तयारीमा थियौं । जसअन्तर्गत नयाँ पर्यटन क्षेत्रको खोजी, नयाँ पर्यटकीय उत्पादनहरूको विकास र इन्नोभेटिभ (नवोदित) पर्यटकीय गतिविधिहरूलाई अगाडि ल्याउनुपर्छ भनिरहेका थियौं । जसको माध्यमबाट २० लाख पर्यटक नेपाल भित्र्याउने भ्रमण वर्षको लक्ष्य थियो ।
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल भएको भए हामी ग्रामीण पर्यटनको विकास गर्न र नयाँ गन्तव्यहरूमा पर्यटक लिएर जान सक्थ्यौं । जसका कारण नेपालको आर्थिक रुपान्तरणमा एउटा नयाँ आयाम थप्छौं भन्ने दृढ सङ्कल्प र विश्वास हामीमा थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि नेपालमा समेत लकडाउन र सटडाउन गर्नपर्दा भ्रमण वर्ष नै स्थगित हुन पुग्यो ।
भ्रमण वर्षको योगदानका कारण भोलिको पर्यटन क्षेत्र थप बलियो तथा प्रभावकारी बन्छ र नयाँ आयाम थपिइन्छ भन्ने विश्वासका साथ व्यवसायीहरूले लगानीको सोच बनाएका थिए । कतिपय लगानी शुरूवात पनि गरिसकेका थिए । फलस्वरुप अहिले पनि नेपालमा ठूला–ठूला होटेलहरूको निर्माण कार्य धमाधम भइरहेका छन् । जुन त्यही भ्रमण वर्षताका शुरू गरिएको थियो, कोरोना महामारीको बीचमा पनि कतिपय होटेल निर्माण र पूर्वाधार निर्माणका कार्यहरू सुचारु नै थिए र कतिपय होटेलहरू निर्माणसम्पन्नको चरणमा पुगिसकेका छन् ।
यद्यपि, कतिपय लगानीहरू चौपट बन्ने अवस्थामा पुगेका छन् । किनभने नेपालको पदयात्रा पर्यटन र हिमाल आरोहणको कुरा सन् २०२० मा शून्यकै अवस्थामा पुगेको थियो । २०२१ मा आएर बसन्त र शिशिर ऋतुमा केही–केही शुरु हुने अवस्था थियो । तर, त्यो पनि कोरोनाको डेल्टादेखि ओमिक्रोन भेरियन्टसम्म आइपुग्दा प्रभावित बन्यो ।
तथापी तपाईंले प्रश्न गर्नुभएजस्तो अब बिस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने अवस्थामा पुगेको चाहिँ हो । सन् २०२० पछि २०२१ सम्म आउँदाखेरि आन्तरिक पर्यटकहरूकै मुभमेन्टका कारण नेपालको ग्रामीण भेगमा रहेका पर्यटनसँग सम्बन्धित व्यवसायहरू अलिकति तङ्ग्रिन खोजेको अवस्था थियो । विदेशी पर्यटकहरू त छँदै थिएन । त्यसलाई पनि अहिलेसम्म आउँदा निरन्तरता दिनसक्ने अवस्था रहेन ।
पछिल्लो समय सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ र सहज प्रोटोकलहरू जारी गरेको अवस्था छ । अझै सरकारले पर्यटन विकास लागि नयाँ कार्यनीति, रणनीति र परिस्कृत कार्यदिशा लियो भने थप सहज र सुधारतर्फ अगाडि बढ्ने विश्वास बढेको छ ।
सरकारले कस्तो रणनीति अपनायो भने पर्यटकीय गतिविधि तीव्ररूपमा अगाडि बढाउन सकिएला ?
पर्यटन क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्दछ । थिलथिलो अवस्थामा रहेको यो क्षेत्रलाई गति दिनका लागि आन्तरिक पर्यटनलाई जोड दिँदै बाह्य पर्यटकको खोजी गर्नुपर्छ । आन्तरिक पर्यटनको सवालमा सरकारले नीति बनाएर नै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता मैले देखेको छु । त्यस्तै निजी क्षेत्रले यसलाई अफ्नो प्राथमिकताको विषय बनाउन जरुरी देखेको छु ।
विश्व पर्यटनको सवालमा केही भू–राजनीतिक कुराहरूले पनि हामीलाई असर गरिरहेको छ । त्यसका लागि हामीले नयाँ ढङ्गको रणनीतिहरू बनाएर आक्रामक बजार व्यवस्थापनमा हामी जान सक्नुपर्छ । हामीले हिजो ०७२ सालको भूकम्पपछि पनि नेपालको पर्यटन ध्वस्त हुन्छ भन्दाखेरि हामीले अलि फरक ढङ्गले फरक शैलीमा काम गर्यौं, जसले त्यतिबेला पर्यटन क्षेत्रलाई चाँडै गति दिन सकेका थियौं । अहिले पनि त्यस्तै खालको गतिविधि र रणनीति लिएर अगाडि बढ्यौं भने नेपालको पर्यटन क्षेत्रले अबचाहिँ गति लिने निश्चित छ ।
यद्यपि, सन् २०१९ को अन्त्यतिरको तथ्याङ्कलाई हेरेर तत्कालै हामीले त्यो सुधार वा प्राप्ती गर्न नसके पनि क्रमशः गति लिँदै जाने छ । त्यस अनुसार हाम्रा व्यवसायी साथीहरू आफ्नो व्यावसायिक कर्मक्षेत्रमा जुटिसकेका छन् । सरकारको तर्फबाट उचित भूमिकाको आशा हामीले गरेका छौं । साथै नेपालको पर्यटन क्षेत्र सुचारु भएकोबारे अन्तर्राष्ट्रिय रूपमा सरकारले सन्देश दिन ढिला गर्नु हुँदैन ।
सुचारु भएको व्यवसायमा अब कुनै अवरोध नदेखिए आगामी सन् २०२३ को अन्त्यतिर हामी आधा भन्दा बढी रिकभरीको अवस्थामा पुग्नेछौं ।
नेपालमा पर्यटनका प्रमुख र आकर्षक क्षेत्रहरू कुन–कुन हुन्, कोभिडको अवस्था सामान्य बनेपछि नेपालमा विदेशी पर्यटकको आगमनको अवस्था कस्तो छ, कोभिडपछिको तरलता सङ्कटको प्रभाव पर्यटन क्षेत्रमा कस्तो पर्यो र सरकारको अपेक्षित भूमिका के हो लगायत प्रश्नहरूको जवाफका लागि तलको भिडियो हेर्नुहोस्–
प्रस्तुति : ज्योति जीसी
FACEBOOK COMMENTS