काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहमा मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताए । उनले भने, “नेपाली आकास सुरक्षित छ, कुनै समस्या छैन । भौगोलिक अवस्थितिले पनि नेपाली आकास सुरक्षित र गतिशील छ । चलायमान भनेर हामीले विश्वभर सन्देश फैलाउन जरूरी छ ।”
मन्त्री पाण्डेले नेपालमा भौगोलिक अवस्था विकट भए पनि यहाँ असङ्ख्य पर्यटन क्षेत्र तथा विभिन्न धार्मिकस्थल भएका कारण अन्य देशको तुलनामा पर्यटक बढी आउन खोज्ने गरेका बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरूणकुमार चौधरीले नेपाल नागरिक उड्डयन प्राधिकरणको काम गर्ने तौरतरिका चित्तबुझ्दो रहेको बताए । उनले भने, “प्राधिकरणको काम गर्ने तरिका ठिक छ, सबैको साथ र सहयोगले प्राधिकरणले सफलता पाएको छ ।”
प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले हवाई सुरक्षाको दृष्टीकोणमा नेपालको आकास निकै सुरक्षित रहेको र प्राधिकरणले उक्त क्षेत्रमा गरेका तथा अबका दिनमा गरिने कार्यका विषयमा जानकारी दिए ।
FACEBOOK COMMENTS