काठमाडौ । मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा बढी छ ।
आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमा समेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ । देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार छ लाख २७ हजार आठ सय ८७ छन् ।
साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार नौ दशमलव् चार प्रतिशत रहेको छ । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग एक लाख ३७ हजार छ सय ४४ बराबर छ ।
व्यापार व्यवसायमा तीन लाख १० हजार छ सय ५१, यातायातमा ३४ हजार छ सय ५६, सेवा क्षेत्रमा ६९ हजार एक सय ७७ र अन्य व्यवसायमा ७५ हजार पाँच सय ५९ बराबर छ । साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत छन् ।
यस्तै जनगणनाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३ दशमलव एक प्रतिशत मानिस अविवाहित छन् भने ६१ दशमलव आठ प्रतिशत मानिस विवाहित छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्ति ३४ दशमलव चार प्रतिशतको विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । मुलुकको कूल साक्षरता दर ६७ दशमलव तीन प्रतिशत बराबर छ । पुरुषको साक्षरता दर ८३ दशमलव छ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ ।
FACEBOOK COMMENTS