काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस–२०८२ को अवसर पारेर विभागले आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।
सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्मान गरिएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवम् पशुपक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मान गरिएको छ ।
त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटेल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपरमार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आईएमई लिमिटेडलाई सम्मान गरिएको छ ।
यसैगरी, व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादूर शाहलाई सम्मान गरिएको छ । वार्षिक कारोबारका आधारमा ५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको कारोबार गर्नेमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड र ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाका रूपमा भीएफ सर्भिसेज प्रालिलाई सम्मान गरिएको छ ।
२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनिलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । त्यस्तै, गत वर्ष सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बागलुङलाई सम्मान गरिएको छ ।
