काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै फागुनमा ५२ हजार ९४४ जना नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएका छन् ।
विदेसिएकामध्ये ४६ हजार ४५२ जना पुरुष र ६ हजार ४९२ जना महिला छन् । यसमध्ये पनि इजरायल–अमेरिका र इरानबीच भइरहेको युद्धका कारण श्रम स्वीकृति रोकिएका देशमा जानेको सङ्ख्या सर्वाधिक छ ।
जारी त्रिदेशीय युद्धका कारण हाल सरकारले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ । गत फागुन १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट उल्लेखित मुलुकका लागि श्रम स्वीकृति स्थगन गरेको थियो ।
तर, फागुन महिनामा विदेसिएकामध्ये झण्डै ३० हजार नेपाली युवायुवती ती देशतर्फ उडेका छन् । कामको खोजी गर्दै फागुनमा विदेसिएका ५२ हजार ९४४ जनामध्ये २९ हजार ६८० जना नेपाली सुरक्षा चिन्ताग्रस्त मुलुकतर्फ उडेका हुन् । त्यसमध्ये २६ हजार ३१४ जना पुरुष र तीन हजार ३६६ जना महिला छन् ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति स्थगन गरिएकामध्ये सबैभन्दा बढी युएईमा १६५२ जना महिलासहित ११ हजार ४९२ जना, कतारमा ५९९ जना महिलासहित ६ हजार ७५७ र साउदी अरेबियामा ३९ जना महिलासहित ६ हजार २२५ जना गएका छन् । विभागले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनमा यमनको भने कुनै विवरण टेटिएन ।

विस्तृत विवरण तालिकामा हेर्नुहोस्–

| S.N. | Country | Male | Female | Total |
| 1 | Saudi Arabia | 6186 | 39 | 6225 |
| 2 | UAE | 9840 | 1652 | 11492 |
| 3 | Qatar | 6158 | 599 | 6757 |
| 4 | Kuwait | 2546 | 500 | 3046 |
| 5 | Bahrain | 640 | 130 | 770 |
| 6 | Oman | 638 | 113 | 751 |
| 7 | Iraq | 29 | 1 | 30 |
| 8 | Jordan | 23 | 188 | 211 |
| 9 | Lebanon | 1 | 1 | 2 |
| 10 | Turkey | 177 | 41 | 218 |
| 11 | Israel | 76 | 102 | 178 |
| 12 | yemen | No Data | No Data | No Data |
| Total | 26314 | 3366 | 29680 |
फागुनमा सबैभन्दा बढी मलेसियामा १२ हजार ६०१ जना, यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ जना, साउदी अरेबियामा ६ हजार २ २५ जना श्रम स्वीकृति लिएर गएका छन् । फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएकाहरु वैदेशिक रोजगारमा गएकाले फागुनमा जानेको संख्या पनि उल्लेख्य नै देखिएको हो ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरू भएको आज सोमबार १७औँ दिन भयो । यसबीचमा इरानले खाडी तथा अन्य देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ । त्यसकारण यूएई, कतार, साउदी अरेयिबा, ओमान, बहराइनलगायत देशमा कार्यरत नेपालीहरूको सुरक्षा चिन्ता बढिरहेको छ ।

सोही चिन्तालाई दृष्टिगत गर्दै सरकारले अर्को सूचना जारी नभएसम्मका लागि १२ वटा देशमा जाने श्रम स्वीकृति स्थगन गरेको हो ।

यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS