काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’लाई दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताउँदै उनले काठमाडौं महानगरपालिका प्रमुख साहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका हुन् ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरू आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरूले नि गरे हुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धामा जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दर पक्ष हो, हामी तयार छौं,’ उनले भने ।
अहिले जबरजस्ती रूपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा उनको आपत्ति जनाएका छन् । ‘अहिले जबरजस्तरूपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । लोकतन्त्रमा सबै फूलहरू फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’
प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहिरहेको चर्चा गर्दै नेता पोखरेलले भने, ‘ओलीजी र बालेन साहको बीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगाताररूपमा नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन ? एमालेले कहाँ बाधा गर्यो ?’ एमालेका कुनै पनि नेता, सांसदहरूले अपराध गर्छ भने उनीहरूलाई दण्डित गर्न कसैले नरोक्ने पनि उनले स्पष्ट पारेका छन् ।
यो पनि पढ्नुहोस्–
बालेनले सरकारमाथि लगाए गम्भीर आरोप, एमालेविरुद्धको ‘फेसबुक पोष्ट’ कसले हटायो ?
बालेन शाहले किन हटाए एमाले सांसद शर्माबारे लेखेको फेसबुक स्टाटस ?
FACEBOOK COMMENTS