काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ ।
असार ७ गते देखि सुरू भएको महाधिवेशन अन्तर्गत आज बिहीबार बिहान केन्द्रीय सदस्य चयनका लागि निर्वाचन भएको छ भने पदाधिकारीका लागि अपराह्न ४ बजेदेखि निर्वाचन गर्ने नेता मनिष झाले जानकारी दिएका छन् ।
उनका अनुसार ६ जना पदाधिकारीका लागि निर्वाचन हुनेछ । जस अनुसार एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री र दुई जना खुला सहमहामन्त्री तथा एक जना महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुन लागेको हो ।
विधान अनुसार निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन लागेको भए पनि यस पटकको महाधिवेशनको सबैभन्दा चासोको विषय प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको उपस्थिति बन्यो । पार्टीभित्र मात्र होइन, बाहिर पनि बालेन साह महाधिवेशनमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषयमा चर्चा भएको थियो ।
सार्वजनिक कार्यक्रमहरूमा कम देखिने, संसदमा समेत आवश्यकता भन्दा कम उपस्थिति जनाउने र पार्टीका नियमित गतिविधिबाट पर देखिने शैलीका कारण अन्तिम समयसम्म पनि उनको उपस्थिति अन्योल थियो ।

गत फागुनमा मात्रै रास्वपा प्रवेश गरेका बालेन साह पार्टीको केन्द्रीय कार्यालय घण्टी घरमा समेत विरलै पुगेका छन् । चुनावी अभियान बाहेक अन्य पार्टी कार्यक्रमहरूमा उनको सहभागिता देखिएको छैन ।
प्रतिपक्ष दलहरूको चर्को दबाबबीच पनि बालेन साह थोरै समयका लागि मात्रै संसद्मा उपस्थिति जनाउने गरेका छन् । उनलाई संसद्मा ल्याउन सभामुखलाई मुस्किल पर्ने गरेको छ । त्यसै कारण महाधिवेशनमा उनको उपस्थितिलाई लिएर अन्तिम समयसम्म पनि नेता कार्यकर्ताहरू अन्योलमा थिए ।
यही अन्यौलताकाबीच उनी असार ७ गते चितवन पुगे । उद्घाटन समारोहमा सहभागी भएका उनले महाधिवेशनलाई सम्बोधन गर्नुका साथै महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तासँग भेटघाट गरेका थिए । उनी रवि लामिछानेलाई पुन: सभापति बनाउन प्रस्तावक समेत बने ।
यसले उनी अब पार्टी राजनीतिबाट टाढा बस्ने अवस्थामा नरहेको सन्देश दिएको छ । बुधबार केन्द्रीय सदस्यको निर्वाचनअघि उनी काठमाडौँ फर्किए पनि महाधिवेशनमा उनको उपस्थितिले रास्वपाभित्र उनको राजनीतिक भूमिकालाई नयाँ ढङ्गले हेर्न थालिएको छ ।
रास्वपाले बालेन साहलाई वरिष्ठ नेताको जिम्मेवारी दिन विधान नै संशोधन गरेको थियो । यो महाधिवेशनबाट पनि उनी वरिष्ठ नेतामै दोहोरिने छन् । अहिलेसम्म उनी सरकार सञ्चालनमै केन्द्रित देखिएका थिए । पार्टी राजनीति र सरकार सञ्चालनलाई फरक फरक रूपमा बुझ्नु पर्ने उनको धारणा थियो । तर, चितवन महाधिवेशनले बालेन साह अब पार्टी सङ्गठनभित्र पनि सक्रिय हुने सङ्केत दिएको छ ।
महाधिवेशनमा उनको उपस्थितिलाई औपचारिक सहभागिताका रूपमा मात्र नभई पार्टीको आन्तरिक राजनीतिमा उनको विधिवत् प्रवेशको रूपमा पनि हेरिएको छ ।
सभापति रवि लामिछानेले बालेन साहलाई वरिष्ठ नेतामा मनोनीत गर्दै छन् । बालेन पक्षका डेढ दर्जन भन्दा बढी नेताहरूलाई केन्द्रीय सदस्यका रूपमा मनोनीत गरिँदै छ । यसले आगामी दिनमा पार्टीका विभिन्न तहमा बालेन निकट नेताहरूको प्रभाव बढ्ने सम्भावना देखिएको छ ।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री साहले पार्टी र सरकारबिचको सम्बन्धबारे आफ्नो दृष्टिकोण स्पष्ट पार्ने प्रयास गरेका थिए । उनले रास्वपा अहिलेसम्म आन्दोलन र भावनाको रूपमा अघि बढेको भए पनि अब संस्थागत संरचनामा रूपान्तरण हुने चरणमा पुगेको बताएका थिए ।
महाधिवेशन सकिएपछि पुन: देश विकास र जनतामुखी काममा केन्द्रित हुनुपर्ने उनको भनाइले पार्टीलाई साधन र देश विकासलाई साध्यका रूपमा हेर्न खोजेको धेरैले बुझेका छन् । यसले उनी अझै पनि शासन सञ्चालन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्न चाहन्छन् भन्ने सन्देश दिएको छ ।
बालेन्द्र साह पार्टीको लामो सङ्गठनात्मक यात्रा पार गरेर प्रधानमन्त्री बनेका होइनन् । उनी सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र सार्वजनिक समर्थनको बलमा प्रधानमन्त्री बनेका हुन् । तर, व्यक्तिगत लोकप्रियतामा आधारित राजनीतिक समर्थन सधैँ प्राप्त हुँदैन । यस्तो अनुभव नेपाली राजनीतिमा पटक-पटक देखिएको छ ।
यही कारण बालेनले पनि अब पार्टी सङ्गठनको महत्त्व थप महसुस गर्न थालेको जानकारहरूको बुझाइ छ । लामो समय सरकार सञ्चालन गर्न, संसद्मा समर्थन कायम राख्न र राजनीतिक स्थायित्व सुनिश्चित गर्न पार्टीको बलियो संरचना अपरिहार्य हुने निष्कर्षमा उनी पुगेको जानकारहरूको बुझाई छ ।
रास्वपाको यो महाधिवेशन पार्टी राजनीतिका लागि पनि महत्त्वपूर्ण मानिएको छ । स्थापना भएको छोटो समयमै सरकारको नेतृत्वसम्म पुगेको स्वतन्त्र पार्टीले पहिलो पटक देशव्यापी सङ्गठन विस्तार, स्थानीय अधिवेशन र चार हजार भन्दा बढी वडामा संरचना निर्माण गरेको दाबी गरेको छ । यसले स्वतन्त्र पार्टीलाई आन्दोलनमुखी अभियानबाट संस्थागत राजनीतिक दलतर्फ रूपान्तरण गर्ने आधार तयार गरेको जानकारहरूको बुझाइ छ ।