काठमाडौं । पछिल्ला केही महिनादेखि विश्व ऊर्जा बजारमा देखिएको तनाव कम भएसँगै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ ।
अमेरिकी–इरान तनावका कारण बढेको तेलको मूल्य अहिले युद्धअघिकै अवस्थामा फर्किएको छ । यसले विश्व अर्थतन्त्र र उपभोक्तालाई राहत दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हाल ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा तल झरेको छ । अमेरिकी बेन्चमार्क डब्ल्यूटीआई क्रुड पनि ७० डलरभन्दा कममा कारोबार भइरहेको छ ।
योसँगै युद्ध र आपूर्ति अवरोधका कारण बढेको अतिरिक्त मूल्य लगभग पूर्ण रूपमा समाप्त भएको छ । युद्ध सुरु हुनुअघि अर्थात् फेब्रुअरी २७ मा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७२.४८ डलर थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मूल्य घट्नुको मुख्य कारण विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज जलमार्गबाट पानीजहाजको आवतजावत पुन: सामान्य हुनु हो । पछिल्लो समय उक्त मार्ग हुँदै दैनिक करिब दुई करोड ब्यारेल कच्चा तेल ढुवानी भइरहेको छ । यो युद्धअघिको स्तरकै बराबरी हो ।

अमेरिका र इरानबीच तनाव कम हुँदै जानु तथा पाकिस्तानको मध्यस्थतामा सुरु कूटनीतिक पहलले पनि बजारमा सकारात्मक प्रभाव पारेको छ । दुवै पक्षबीच वार्ताको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा आपूर्ति सहज भएको र लगानीकर्ताको विश्वास बढेको विश्लेषण गरिएको छ ।
ब्रेन्ट क्रुड हाल प्रतिब्यारेल ७२.२४ देखि ७३.३४ डलरको बीचमा कारोबार भइरहेको छ । डब्ल्यूटीआई क्रुडको मूल्य ६९.४० देखि ७०.०७ डलरको हाराहारीमा छ ।
अमेरिकाको दैनिक तेल उत्पादन एक करोड ३८ लाख ब्यारेलभन्दा बढी पुगेको छ । यो इतिहासकै उच्च रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको फ्रेबुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।