 
			                  			              
काठमाडौं । नेकपा एमालेबाट लगिएर कम्युनिष्ट पार्टी एकताको अभियान चलाइरहनुभएका नेता बामदेव गौतमले आफू एमालेमा नै आएर काम गर्न चाहेको बताएका छन् ।
आज सोमबार ललितपुरमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा नेता गौतमले पार्टी फुटेपछि पार्टी अध्यक्ष केपी ओलीले पहिलो पटक बोलाउँदा आफू नआएको तर दोस्रो पटक बोलाउँदा गएर मलाई के काम जिम्मा दिनुहुन्छ, अरूलाई के जिम्मा दिनुहुन्छ भनेर कुरा राखेको स्मरण गरे । ‘उहाँले भन्नुभयो हाइ लेबल कमिटीले निर्णय गर्छ तपाईँहरूको बारेमा भन्नुभयो, हाइ लेबल कमिटीले निर्णय कहिले गरेको छ, आजसम्म पर्खेर बसेको छु, झण्डै सात–आठ महिना भइसक्यो’, गौतमले भने ।
गौतमले मान्छेबाट गल्ती हुने बताउँदै आफूबाट गल्ती कमजोरी भएको र त्यो देखिएको पनि बताए । आफू फेरि आत्मालोचना गरेर पार्टीमा आएको उनको भनाइ छ । ‘अहिले म ७५ वर्षको छु, उहाँले होइन तपाईँ ७६ वर्ष हुनुभयो भन्नुभयो, हो ७६ वर्ष भए पनि ल छु, बढेर के फरक पर्यो र झन् राम्रै भयो, मेरो हिसाबले ७५ हो, तपाईँको हिसाबले ७६ वर्ष भयो, तर मैले पार्टीले दिएको जिम्मेवारी अहिले पनि पुरा गर्न सक्छु’, गौतमले भने ।
पार्टी फुटेको बेला आफूलाई चित्त दुखेर कतै पनि नलागेको बताउँदै गौतमले पार्टी मिलाउनका लागि आफूले एउटा फोरम बनाएको स्मरण गराए । तर, फुट्ने र फुटेर जाने दुवैले आफैलाई पार्टी फुटायो भन्ने आरोप लगाएका भन्दै उनले गुनासो गरे । पार्टी फुटेको बेलामा केपी ओलीले बोलाउँदा आफू एमालेमा नजानु गल्ती भएको गौतमले स्विकारे । केपी ओलीले यस्तो बेलामा बीचमा बस्नु हुँदैन, आउनुस् नत्र तपाईँलाई घाटा लाग्छ भनेको स्मरण गर्दै गौतमले आज त्यही घाटा आफूले बेहोरिरहेको बताए । ‘त्यसैले आज घाटा लागेको छ कमरेड, म त्यसबेला जानु पर्दथ्यो तपाईँले बोलाएको बेलामा,’ गौतमले भने ।
पार्टी फुटेको बेला केपी ओलीतिर जाँदा प्रचण्डलाई गाली गर्नुपर्ने र प्रचण्डतिर जाँदा केपीलाई गर्नुपर्ने भएकाले आफू कतै जान नसकेको उनको भनाइ छ । ‘त्यस बेला पार्टी फुटाएको मैले हुँदै होइन, २०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन, निष्कासन गरेपछि नयाँ पार्टी बनाइयो, रियलाइजेसन भएपछि फर्केर आइयो, अहिले पनि पहिला बोलाएको बेला जानु पर्दथ्यो जान सकिनँ’, उनले भने ।

पार्टी फुट्न लागेको बेला आफूले केपीलाई साथ दिनुपर्ने भए पनि केपीले साथ नै नखोजेको पनि उनले बताएका छन् । ‘तपाईँले साथ नै खोज्नु भएन, मैले कसरी साथ दिने ?’, गौतमको प्रश्न थियो । सबै अनुभवले केपी ओलीको खुट्टा तान्न र ढाल्नका लागि आफू एमालेमा आउन लागेको नभई उनलाई सघाउन आउन लागेको गौतमले बताए । ‘तपाईँले जति उपलब्धि हासिल गर्नुभएको छ, त्यो भन्दा बढी उपलब्धि हुने गरी म आउँछु,’ गौतमले ओलीलाई भने ।

आउने २०८४ को निर्वाचनमा एमालेले ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाउन आफूले ओलीलाई सुझाव दिएको गौतमले बताए । आफूले फेरि पार्टी फुटाउँछ कि भन्ने डर लाग्छ भने आफूसँग अरू कोही मानिस राख्दिन गौतमले ओलीलाई आग्रह गर्दै भने, ‘नमर्दासम्म मैले काम गर्न पाउनुपर्छ, मरेपछि कम्युनिष्ट पार्टीको झण्डा ओढ्न पाउनु पर्छ, मेरो कुरा यत्ति हो ।’

एमाले छाड्ने तयारीमा भीम रावल, पार्टी नेतृत्वप्रति गरे यस्तो गुनासो
 
              
              
              
              		              
FACEBOOK COMMENTS