काठमाडौँ । आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी २१ सम्ममा टी–२० विश्वकपमा सहभागिता बारे स्पष्ट पार्न अल्टिमेटम दिएको छ ।
आईसीसीले शनिबार ढाकामा भएको बैठकमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी २१ सम्म निर्णय लिन अल्टिमेटम दिएको क्रिकइन्फोले उल्लेख गरेको छ ।
आइसीसीसँगको छलफलमा बंगलादेश बोर्डले टी–२० विश्वकप खेल्न चाहेको स्पष्ट पारेको छ, तर आफु भारत बाहिर खेल्न चाहेको बताएको छ । बोर्डले भारतमा खेलेमा टोलीको सुरक्षाको बारेमा चिन्ता रहेको बताएको छ । बंगलादेशले श्रीलंकामा विश्वकप खेल्न चाहेको बताएको छ ।
यद्यपि, आईसीसी आफ्नो निर्णयमा अडिग रहेको र स्पष्ट रूपमा प्रतियोगिताको तालिका र खेल हुने स्थान परिवर्तन गरिने नहुने बताएको छ ।
आइसीसीले बंगलादेशले अस्वीकार गरेमा अन्य विकल्प तयार रहेको बताएको छ । मिडिया रिपोर्टहरूका अनुसार, आईसीसीले अब अन्तिम निर्णय बीसीबीलाई छोड्दैछ। यदि बीसीबीले भारतमा टोली पठाउन अस्वीकार गरेमा, आईसीसीले बंगलादेशको ठाउँमा अर्को टोली समावेश गर्न सक्ने भएको छ । हालको वरियताको आधारमा, स्कटल्याण्ड छनोट हुने सम्भावना बढी देखिएको छ ।

यसअघि जनवरी १७ को बैठकमा, बीसीबीले समूह परिवर्तनको अनुरोध गरेको थियो, जुन आईसीसीले अस्वीकार गरेको थियो । आईसीसीले बीसीबीलाई बंगलादेश टोलीलाई कुनै ठूलो सुरक्षा खतरा नभएको पनि आश्वासन दियो ।

बंगलादेश क्रिकेट बोर्डले आईसीसीलाई समूह सी को सट्टा समूह बी मा समावेश गर्न अनुरोध गरेको थियो । बोर्डले यसले बंगलादेशलाई आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्न अनुमति दिने तर्क गरेको थियो ।

हालको तालिका अनुसार, आयरल्याण्डले आफ्नो समूह बी को खेलहरू श्रीलंका, अष्ट्रेलिया र ओमान विरुद्ध कोलम्बोमा खेल्नेछ, जसको अन्तिम खेल जिम्बाब्वे विरुद्ध क्यान्डीमा हुनेछ । यसैबीच, बंगलादेशले आफ्नो हालको समूह सी मा, कोलकातामा वेस्ट इन्डिज, इटाली र इङ्गल्याण्ड विरुद्ध तीन खेल खेल्नेछ, जसको अन्तिम समूह खेल मुम्बईमा नेपाल विरुद्ध हुने तालिका रहेको छ ।

बंगलादेशमा हिन्दूहरूको हत्याका कारण, बीसीसीआईले मुस्ताफिजुर रहमानलाई आईपीएलमा खेल्न अनुमति नदिएपछि विवाद बढेको थियो । बीसीसीआईको आदेशमा जनवरी ३ मा कोलकोताले रिलिज गरेको थियो । विवाद बढ्दै गएपछि बंगलादेश सरकारले देशमा आईपीएल खेलहरूको प्रसारणमा प्रतिबन्ध लगायो । खेलाडी सुरक्षा चिन्तालाई उद्धृत गर्दै, यसले फेब्रुअरी ७ मा सुरु हुने तय भएको टी– २० विश्वकप स्थललाई पनि स्थानान्तरण गर्न माग गरेको थियो ।
FACEBOOK COMMENTS