काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् ।
उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थाका कारण बैंकहरूले ब्याजदर घटाएका हुन् । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशतले घटेको छ ।
पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको छ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५ प्रतिशतमा कायम भएको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत ब्याजदर तय गरेको छ ।

ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

कतिपय बैंकले ब्याजदर स्थिर राखेका छन् । नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले ब्याजदर स्थीतर स्थिर राखेका हुन् । प्राइम कमर्सियल बैंकले सामान्य बढाएको छ ।

FACEBOOK COMMENTS