काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।
बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस गर्नुपर्नेछ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। सहभागी संस्थाले विभिन्न ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन्।बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। आवेदन रकम १० करोड रुपैयाँले नि:शेष भाग जाने हुनुपर्नेछ।
अधिकतम आवेदन भने आह्वान गरिएको कुल रकमसम्म दिन सकिनेछ। निक्षेप संकलनका लागि प्राप्त आवेदनमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिनेछ।

समान ब्याजदरमा प्राप्त आवेदनको रकम उपलब्ध गराउन सकिने कुल रकमभन्दा बढी भएमा समानुपातिक अर्थात् प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ। यस उपकरणमा लगानी गरिएको रकमलाई बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्।

यद्यपि, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता दीर्घकालिन तथा अल्पकालीन समयका लागि तान्दै आएको छ। यसले वित्तीय प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई सहयोग पुर्याउँछ।
