बारा । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न आरोपितको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेका छन् ।
आरोपित सुमन थापाले बयान दिइरहेको समयमा बयान कक्षभित्रै ‘प्रोटोकल’ विपरीत खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि चौतर्फी प्रश्न उठेको थियो । भिडियोमा आरोपितले कसरी बलात्कार र हत्या गरे भन्ने विस्तृत विवरण खुलाएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार हवल्दार विकलाई हाल हिरासतमा राखिएको छ र उनीमाथि फौजदारी कसुर अन्तर्गत कानुनी कारबाही अगाडि बढाउने तयारी भइरहेको छ ।
भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएकाले अन्य संलग्नहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको गोपनीयता भंग गरी भिडियो बाहिरिएपछि नेपाल प्रहरी मुख्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले बाराका प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि पनि छानबिन थालेको छ । गम्भीर प्रकृतिको अनुसन्धान भइरहेका बेला संवेदनशील भिडियो सार्वजनिक हुनुलाई प्रहरीको व्यावसायिक मर्यादाविपरीत मानिएको छ ।