काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विराटनगर भन्सारबाट परीक्षण गरिएको मूल्यांकन डेटावेस (कारोबारमा आधारित) भन्सार प्रणालीलाई देशभरका सबै भन्सार बिन्दुमा छिटो लागू गर्न सरकारसँग आग्रह गरेका छन ।
उनले उद्योगी–व्यवसायीहरूलाई पनि हाल परीक्षणका रूपमा सुरु भएको यो वैज्ञानिक अनलाइन प्रणालीको राम्रोसँग उपयोग गर्न आग्रह हुन ।
महासंघले लामो समयदेखि माग गर्दै आएको यो प्रणालीको सफल परीक्षण विराटनगर भन्सार कार्यालयबाट भएको भन्दै उपयोग गर्न आग्रह गरेका छन । यसअघि सन्दर्भ सूचीमा आधारित प्रणाली लागू गरिएको थियो ।
तर मूल्यांकन डेटाबेस तरिका विश्व व्यापार संगठन (डब्लूटीओ) अन्तर्गतको ग्याट (जीएटीटी) सम्झौता मा उल्लेख भएअनुसारको कारोबार मूल्यमा आधारित मुल्यांकन विधि हो।
यो विधि नेपालमा पहिलोपटक सुरू गरिएको हो र यसले पुरानो सन्दर्भ पुस्तिकालाई विस्थापित गर्नेछ । अर्थमन्त्री रामेश्वर खनालद्वारा असोज ९ गते उद्घाटन गरिएको थियो ।
यस नयाँ प्रणालीले हरेक ६ महिनामा फेरिने सन्दर्भ पुस्तिकाका कारण व्यवसायीले गर्ने गुनासोलाई सम्बोधन गर्ने अपेक्षा सरकारी अधिकारीको छ ।
यो विधिमा भन्सार जाँचपास भएका सबै वस्तुको मूल्य विवरण जम्मा गरिन्छ। सरकारका अनुसार यो प्रणाली भन्सारमा आएका वस्तुहरूको विश्लेषण र तुलना गर्न मिल्ने एउटा डिजिटल स्रोत हो, जसले वास्तविक कारोबार मूल्य पत्ता लगाउन मद्दत गर्छ ।
यो अनलाइन डेटावेस प्रणालीलाई विश्व व्यापार संगठनले पनि मान्यता दिएकाले यो वैज्ञानिक भएको महासंघले जनाएको छ।
यसले नेपालको अनौपचारिक अर्थतन्त्रको समस्या, खासगरी कम बिल बनाउने (न्युनबिजकीकरण) र बढी बिल बनाउने (अधिक विजकीकरण) जस्ता समस्यालाई धेरै हदसम्म समाधान गर्ने अध्यक्ष ढकालले बताए ।
FACEBOOK COMMENTS