भक्तपुर । विजयादशमीको अवसरमा भक्तपुरस्थित तलेजुमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीय तथा सर्वसाधारणले दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
तलेजुमा परम्पराअनुसार सबैभन्दा पहिले एकान्त कुमारी लुनिभाले शुभसाइतको टीका ग्रहण गरेकी थिइन्। त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले कुमारीको हातबाट टीका लगाएपछि सर्वसाधारणका लागि टीका ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो।
तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार पुजारी तथा अन्य परम्परागत पदाधिकारीले टीका लगाएपछि स्थानीय भक्तजन र सर्वसाधारणले कुमारीको हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन्।
टीका ग्रहणको कार्यक्रम सम्पन्न भएपछि दुर्गा विसर्जन गरी तलेजु भवानीलाई दसैँघरबाट मूलचोकको दक्षिणतर्फ रहेको देवगृहमा विधिपूर्वक भित्र्याइएको जोशीले जानकारी दिए। फूलपातीका दिन तलेजु भवानीलाई देवगृहबाट मूलचोकको पश्चिमतर्फ रहेको कुमारी चोकस्थित दसैँघरमा ल्याइएको थियो।
तलेजु भवानीसहित अन्य देवीदेवतालाई राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले धार्मिक विधिअनुसार देवगृहमा भित्र्याएका हुन्।

यस क्रममा १९ जना पुजारीले परम्परागत जामा, पगरी, भोटो र खास्टोसहितका पोसाक लगाएर देवीदेवतालाई दसैँघरबाट देवगृहमा स्थानान्तरण गरेका थिए। भक्तपुरको तलेजुमा विजयादशमीका अवसरमा गरिने यी धार्मिक तथा सांस्कृतिक विधि परम्परादेखि निरन्तर चल्दै आएका छन्।
